विराटनगर । कोशी प्रदेशका निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा सङ्कटकाल लगाएर मूल्य समायोजनको माग राखेका छन् । विकास निर्माणका आयोजनाका लागि आवश्यक पर्ने इन्धन र निर्माण सामग्रीको भाउ आकासिएका कारण निर्माण क्षेत्रमा सङ्कटकाल लगाएर भए पनि मूल्य समायोजन गर्नु पर्ने माग राखेका छन् । अहिलेको महँगी अनुसार विकास निर्माणको काम अगाडि बढाउन नसकिने निर्माण व्ज्यबसायीहरुले बताएका छन् । उनीहरूले इन्धनको भाउ अत्यधिक बढेको, कालोपत्रे गर्न आवश्यक पर्ने बिटुमिन पाइन छाडेको, सिमेन्ट र फलामे छडको समेत भाउ आकासिएकाले काम अगाडि बढाउन सक्ने अवस्था नभएको बताएका छन् । 
निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले वर्तमान मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी हुन लागेको बताएको छ  । महासङ्घका कोशी प्रदेश महासचिव रमेश कार्कीले बजारमा सिमेन्ट, फलामजन्य सामग्री र इन्धनको मूल्य अस्वाभाविक ढङ्गले बढेको  बताए । उनले भने, निर्माण सामग्रीको भाउ अत्यधिक बढेकाले ठेक्का लागेका योजनाहरू पनि अगाडि बढाउन सक्ने अवस्था छैन । मूल्य वृद्धिले विकास निर्माणका कामहरू ठप्प हुने स्थितिमा पुगेको छ । 
निर्माण क्षेत्र अहिले बहु आयामिक समस्याबाट गुज्रिरहेको भन्दै कच्चा पदार्थको अभाव र नियामक निकायका अस्पष्ट नीतिका कारण व्यवसायीहरू मारमा परेको व्यवसायीहरूले बताए । 
कार्कीले सरकारले तत्काल यस विषयमा ठोस पहल गर्नुपर्ने माग राखे । उनले भने, अहिले सामान्य अवस्था रहेन असामान्य अवस्थामा सरकारले नीतिगत सम्बोधन गर्नु पर्छ । 
इन्धनमा कोटा 
मध्यपूर्वमा जारी तनावका कारण  पेट्रोलियम पदार्थको भाउ अकासिएको छ १४० रुपैयाँ प्रतिलिटर डिजेलको मूल्य २०५ रुपैयाँ पुगेको छ । ठुला निर्माणका लागि टिपर, एक्स्काभेटर, ग्रेडर र रोलर जस्ता  उपकरणहरू प्रयोग हुँदै आएका छन् । यी सवारीका साधन सञ्चालन गर्न डिजेलको आवश्यकता पर्दछ । ठुला ठेकेदार कम्पनीहरूलाई डिजेल आवश्यकता परे पनि अहिले डिजेलमा कोटा तोएिको व्यवसायीहरूले बताएका छन् । व्यवसायीहरूका अनुसार  नेपाल आयल निगमले निर्माण कम्पनीहरूलाई उपलब्ध गराउँदै आएको डिजेलमा कटौती गरेपछि कामको गति सुस्त भएको बताए । अहिले महँगो मूल्यमा समेत डिजेल  चाहे जति डिजेल पाउन सकिएको छैन ।  एसिएन हाइवेको निर्माण गर्दै आइरहेको  इभ्रास्कन कालिका जे भी का प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईँले  आवश्यकताको २५ प्रतिशत मात्रै डिजेल प्राप्त गर्ने गरेको बताए । उनले भने पहिला हामी  २० हजार लिटर डिजेल लिने गरेका थियौ । अहिले ५ देखि ६ हजार लिटर मात्र पाइरहेका छौ । उनले सरकारले पम्पहरूको कोटा काटेका कारण बजारबाट इन्धन  सङ्कलन गर्न पनि कठिन भएको बताए ।