सुनसरी — विराट गोल्डकपको उपाधिका लागि पूर्वविजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

खेल विराटनगरस्थित सहिद रंगशालामा राति ७ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।

फाइनलअघि शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गर्दै आत्मविश्वास व्यक्त गरेका छन्।

सम्राटले उपाधि जिते प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ भने झापाले आफ्नो दोस्रो उपाधि लक्ष्य बनाएको छ।

घरेलु मैदान र समर्थकको साथ पाएको सम्राट पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्ने योजनामा छ।

यसअघि झापा–११ ले २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो। यस संस्करणमा पनि झापाले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबजस्ता विभागीय टोलीलाई हराउँदै फाइनल यात्रा तय गरेकोले टोली उच्च मनोबलमा देखिएको छ।

पूर्व फिफा रेफ्री किरण गिरीको टिम सम्राट स्पोर्टिङले क्वाटरफाइनलमा भारतको बिर्सामुण्डा स्पोर्टस् एकेडेमी र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको समर्थन नै टोलीको मुख्य शक्ति भएको बताए।

‘पहिलो खेलमा खेलाडीहरू सेट हुन नसके पनि दोस्रो खेलमा उत्कृष्ट तालमेल देखियो। यही तालमेललाई निरन्तरता दिँदै उपाधि जित्ने लक्ष्य छ,’ उनले भने।

कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका फिनिसिङ कमजोरी सुधार गरेर फाइनल खेल्ने बताए। विभिन्न क्लबबाट सफल कप्तानी गरिसकेका खवासको अनुभव टोलीका लागि महत्वपूर्ण मानिएको छ।

यता, झापा–११ का प्रशिक्षक गणेश खड्काले खेलाडीका रूपमा जितेको उपाधि प्रशिक्षकका रूपमा पनि दोहोर्‍याउने लक्ष्य रहेको बताए। ‘हामीसँग तीन विदेशी खेलाडी छन्।

सम्राट पनि बलियो टोली हो, त्यसैले प्रतिस्पर्धा निकै रोचक हुनेछ,’ उनले भने।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।