सुनसरी — विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले दोस्रोपटक उपाधि चुमेको हो ।
उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो । यसअघि २०७२ सालको संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै झापाले पहिलोपटक उपाधि जितेको थियो ।
यसपटकको झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे । सम्राटका तर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए ।
प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८१ औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । गोलरक्षक विशाल सुनारले प्रहार गरेको लामो पासलाई राजेशले दिशा देखाउँदै गोलमा परिणत गरेका थिए ।
झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उमेर समूहमा अन्तर्राष्टि्रय प्रतियोगिता खेलिसकेका उराउले फागुराम थारूको पासमा गोल गरेका थिए । खेलको थप गरिएको अतिरिक्त ७ मिनेटको समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर घटाए पनि हार टार्न सकेनन् ।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसरहरू गुमाएका थिए । खेलको १६ औं मिनेटमा सम्राटका सुरज तामाङले पेनाल्टी क्षेत्र (डिबक्स) भित्रबाट गरेको प्रहार झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे । त्यसलगत्तै झापाका सुलमान किङको प्रहार पोस्टबाट बाहिरिएको थियो । दोस्रो हाफमा भने झापा थप आक्रामक देखियो । ४७ औं मिनेटमा राजेश दाहाल र ५५ औं मिनेटमा मौसम सुब्बाको कडा प्रहार बाहिरिएको थियो ।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो । झापाका फागुराम थारू सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभरि ३ गोल गरेका थिए ।
सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पाए । यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।
विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए ।

















