​विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ठुलो परिमाणको नगद सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगरबाट काठमाडौँ जान लागेका यात्रुहरूको सुरक्षा जाँच गर्ने क्रममा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

​प्रहरीका अनुसार, वैशाख १८ गते राति बुद्ध एयरको उडानबाट काठमाडौँ जान लागेका सुनसरी, धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङको झोलाबाट स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँ फेला परेको थियो। त्यसैगरी, वैशाख १९ गते दिउँसो श्री एयरको उडानमार्फत काठमाडौँ जान लागेका भारतको मालदा जिल्ला निवासी ३६ वर्षीय मोहिदिल अलिलको साथबाट १५ लाख ९८ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी काेपिला चुडालले जानकारी दिइन्।

​बरामद गरिएको २६ लाख ९८ हजार रुपैयाँको कुनै आधिकारिक स्रोत नखुलेपछि प्रहरीले दुवै जनालाई रकमसहित नियन्त्रणमा लिएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी  चुडालले जानकारी दिइन् ।