विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा ५का भूमिहीन सुकुम्बासीहरु आन्दोलित बनेका छन् । 

आफूले जिताएर पठाएको व्यक्ति नै  प्रधानमन्त्री बनेपछि सुकुम्वासी र भूमिहीनहरूलाई बिचल्ली पारेको भन्दै उनीहरूले विरोध प्रर्दशन गरेका हुन ।

 प्रधानमन्त्री बालेन्द्र शाह झापा ५ बाट अत्यधिक मतका साथ विजयी भएका थिए । 


शाहलाई निर्वाचित गराएको दुई महिना नबित्दै त्यहाँका मतदाताले उनी विरुद्ध नारा जुलुस गर्दै विरोध गरेका हुन ।  बुधवार झापा ५ को मुख्य सहरी क्षेत्र दमकमा सुकुम्वासीहरूले सरकार विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरे । 


उनीहरूले अर्को बन्दोबस्त नमिलाई वर्षौ देखि बसोबास गरी रहेको ठाउँबाट सुरक्षाकर्मी र डोजर चलाएर उठीबास गराउन नहुने बताए । अखिल नेपाल सुकुमबासी सङ्घको आयोजनामा निकालिएको र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रममा गरेको थियो । 


यस अघि झापा ५ मानै पर्ने कमल गाउँपालिकामा समेत सुकुम्वासीहरूले जुलुस सहित विरोध प्रदर्शन गरेका थिए । भूमि अधिकार तथा श्रमिक सङ्गठनको आयोजनामा कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्वासीहरूले सोमबार विरोध र्‍याली प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका थिए । 


झापाकै बिर्तामोडमा पनि सुकुम्वासीहरू आन्दोलित बनेका छन् । उनीहरू बसोबास गरी रहेको स्थानबाट जबरजस्ती उठाउनु खोज्न मानवीयता विपरीतको कार्य भएको समेत जनाएका थिए । सुकुम्वासी संयुक्त सङ्घर्ष समितिले र्‍याली प्रदर्शन गरी स्थानीय सरकारलाई बसोबास गरेकै स्थानमा भूमि स्वामित्व दिलाउन समेत माग गरेका छन् । 


सुकुम्बासीलाई  स्थानीय तहको  आश्वासन 


झापा क्षेत्र नं  ५ का स्थानीय तहका प्रमुखहरूले  सङ्घीय सरकारको सुकुम्वासी बस्तीमा डोजर चलाउने अभियानको विरुद्धमा उभिएका छन् । उनीहरूले सुकुम्बासीहरुलाई संघिय सरकारले भने पनि डोजर चल्न नदिने भन्दै आश्वस्त पनि पारेका छन् । 


दमक नगरपालिकाका मेयर रामकुमार थापाले प्रहरी र प्रशासन कार्यालयबाट सुकुम्वासीको विवरण उपलब्ध गराउन गरेको पत्राचार प्रति पनि आक्रोश व्यक्त गरेका छन् । 

उनले भनेका छन्, ‘स्थानीय सरकार भनेको जन निर्वाचित निकाय हो, यो कुनै प्रशासन र प्रहरी मातहतको प्रहरी चौकी होइन । जनप्रतिनिधिमूलक निकायमा यस ढङ्गबाट पत्र पठाएर निर्देशन दिने काम बन्द गरियोस्, यो जनभावना विपरीत छ ।’ उनी आफैँ सुकुमबासीहरुका बस्तीमा पुगेर समेत स्थानीय सरकारले कुनै पनि नागरिकको घरबार नउठाउने भन्दै आश्वस्त पार्दै आएका छन् । 


यस्तै यही झापा ५ कै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि सुकुम्वासी बस्तीमा डोजर नचलाइने प्रस्ट पारेका छन् । विगतका आयोगले अपेक्षाकृत काम गर्न नसक्दा भूमिहीनहरू अधिकारबाट वञ्चित भएको उल्लेख गर्दै उनले लालपुर्जा दिलाउने तर्फ ध्यान दिन सङ्घीय सरकारलाई आग्रह पनि गरेका छन् ।