सुनसरी– धरानमा नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग अन्तर्गत खुला एक्युरेसी प्रतियोगिता सुरु भएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा शुक्रवारदेखि सुरु प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिने संघका अध्यक्ष भूपेन्द्र चाम्लिङले जानकारी दिए ।
एक्युरेसी ओभर अलतर्फ विजेताले १ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, एक्युरेसी टिमतर्फ विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् ।
एक्युरेसी नेशनल पुरुषतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
महिलातर्फ पनि विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको टेकअफ धरान–४ स्थित छोटी मोरङबाट गरिनेछ भने ल्याण्डिङ सेउती कोरिडोरमा हुनेछ ।
प्रतियोगितामा नेपाल सहित भारत, चीन, मलेसिया र श्रीलंका लगायत देशका करिब ६० खेलाडीको सहभागिता रहेको छ ।

















