विराटनगर । नेकपा एमाले संसदीय दल कोशीको प्रमुख सचेतकमा रमेशकुमार बस्नेत नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस्नेतलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । बस्नेत सुनसरी १(१) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

यस अघि नेकपा एमालेको प्रमुख सचेतक रहेका विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए । लिङ्थेप आर्थिक मामिला मन्त्री नियुक्त भएपछि लामो समयदेखि एमालेले प्रमुख सचेतक नियुक्त गर्न सकेको थिएन । प्रमुख सचेतक नियुक्त नहुँदा सचेतक ललिताकुमारी चौधरी मार्फत सभा सञ्चालनका बेला काम हुँदै आएको थियो ।

७९ को निर्वाचन पछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रेवती रमण भण्डारीलाई नियुक्त गरिएको थियो । उनी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएपछि लिङ्थेपलाई सो जिम्मेवारी दिइएको थियो ।