सुनसरी — नेपाल क्रिकेट संघ(क्यान) को वार्षिक साधारणसभा विराटनगरमा सुरू भएको छ। दुई दिनसम्म सञ्चालन हुने साधारणसभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्।

साधारणसभामा क्रिकेटसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

विशेषगरी पछिल्लो १० महिनादेखि नवीकरण नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको विषयले साधारणसभामा प्रमुख एजेन्डाको रूपमा प्रवेश पाउने अपेक्षा गरिएको छ।

क्यानले पछिल्लोपटक २०८१ असोजमा साधारणसभा सम्पन्न गरेको थियो।

त्यसबेला गरिएको नवीकरण २०८१ पुस ९ गतेसम्मका लागि मात्रै मान्य रहेको उल्लेख गरिएको छ।

यही विषयलाई लिएर साधारणसभामा पेचिलो बहस हुने अनुमान गरिएको छ।

क्यानका बोर्ड सदस्यहरूको निवेदनपछि राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)ले जाँचबुझ सुरू गरेको छ ।

राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलका अनुसार शुक्रबार ७ दिनको म्याद दिएर क्यानसँग लेखापरीक्षणलगायतका कागजात मागिएको छ ।

राखेप सदस्यसचिव रामचरित्र मेहताले पनि पछिल्लो विवादमा आफूहरूले जाँचबुझ थालेको बताएका छन् ।

क्यानमा वित्तीय अनुशासन नदेखिएको भन्दै नौ जना बोर्ड सदस्यहरूले गत सोमबार राखेपमा निवेदन दिएका थिए ।