सुनसरी — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले कानुनको पालना गर्दै पारदर्शी ढंगले अघि बढ्न नेपाल क्रिकेट संघ(क्यान)लाई आग्रह गरेका छन् ।
विराटनगरमा आइतबारदेखि सुरू भएको क्यानको वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा कानुन मिच्नेलाई शक्तिशाली ठान्ने प्रवृत्ति रहेको उल्लेख गरे । 'हामी सबै कानुनको पालना गर्नेतर्फ उन्मुख हुनुपर्छ । हाम्रो नेपालमा कसले कति कानुन मिच्यो, त्यसलाई बलियो ठानिन्छ । तर अन्तर्राष्ट्रिय स्तरमा कसले कति कानुन मान्छ, त्यसलाई बलियो मानिन्छ । त्यसैले सबै क्रियाकलाप पारदर्शी हुनुपर्छ,' उनले भने ।
मेहताले कुनै पनि संघ कुनै एक व्यक्तिको मात्र नभएको उल्लेख गर्दै नेतृत्व बलियो भए संगठन पनि बलियो हुने बताए । नेपालमा क्रिकेटले उल्लेखनीय प्रगति गरिरहेकाले संघ विवादमा अल्झिन नहुने उनको भनाइ थियो । ढिलै भए पनि क्यानले साधारणसभा आयोजना गरेको भन्दै उनले सफलताको शुभकामनासमेत व्यक्त गरे ।
कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशको परिस्थितिका कारण साधारणसभा गर्न ढिलाइ भएको बताए । यस विषयमा एसीसी र राखेपलाई जानकारी गराइसकिएको उल्लेख गर्दै उनले क्यानले नेपाली क्रिकेटका लागि गौरवमय काम गर्दै आएको दाबी गरे । त्यसैगरी क्यानका सचिव पारस खड्काले प्राविधिक तथा व्यावहारिक कारणले वार्षिक साधारणसभा केही ढिलो भएको बताए । साधारणसभा भोलिसम्म चल्नेछ ।

















