विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारको काम प्रति असन्तुष्टि जनाएका छन् । नेपालको भूमि मिचिएको विषयमा सरकारले कुनै ठोस कदम चाल्न नसकेको सांसद साम्पाङले आरोप लगाएका छन् ।
नेपालको सिमा रक्षा गर्न नेपाली सेना नपठाएको तर सुकुुम्बासी बस्ती भत्काउन दुरुपयोग गरेको उनले आरोप लगाए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले भने, ‘नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन पठायो ? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ।’
उनले देश आज अभिभावक विहीन बनेको जिकिर गरे। उनले सरकारको औचित्य नभएको भन्दै असफल भइसकेको बताए।

















