सुनसरी — धरानमा सम्पन्न अन्तराष्ट्रिय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगितामा नेपाली खेलाडी अमन थापा मगर ओभरअल च्याम्पियन बनेका छन् ।
चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले उपाधिसँगै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको ओभरअलतर्फ सागर नेपाली उपविजेता बने । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे ।
भारतका अक्ष कुमार तेस्रो हुँदै ७५ हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भए ।
खुल्ला महिला विधातर्फ भारतकी श्रेयसी तामाङ विजेता बनिन् ।
उनले ४० हजार रुपैयाँ प्राप्त गरिन् । ईक्सा राई दोस्रो हुँदै २५ हजार रुपैयाँ तथा मोरङकी विद्या राई तेस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भइन् ।
टिमतर्फ अरुण जालारी, अञ्जन कुँवर, पवन परियार र रिकी पोडे सम्मिलित टोली पहिलो भयो । उक्त टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
युवराज सुनुवार, सुमनजंग थापा, विष्णु तिमल्सिना र रोशन बस्नेत सम्मिलित टोली दोस्रो हुँदै ३० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो ।
कृष्णबहादुर क्षेत्री, अमन थापा र विष्णु कार्कीको टोली तेस्रो हुँदै २० हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो ।
एक्युरेसी नेसनल महिला विधातर्फ ईक्सा राई पहिलो हुँदै ३० हजार रुपैयाँ प्राप्त गरिन् ।
विद्या राई दोस्रो हुँदै २० हजार रुपैयाँ तथा देवकीमाया सुनुवार तेस्रो हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भइन् ।
त्यस्तै, एक्युरेसी नेसनल पुरुषतर्फ अमन थापा पहिलो हुँदै ३० हजार रुपैयाँ प्राप्त गर्दा सागर नेपाली दोस्रो हुँदै २० हजार रुपैयाँ र पवन परियार तेस्रो हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
धरानमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिताले पर्यटन प्रवर्द्धनसँगै साहसिक खेलको सम्भावना उजागर गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो ।

















