विराटनगर । विराटनगरमा आज नेपाली काँग्रेसको देउवा सिटौला समूहले छुट्टै भेला गरेको छ । कृष्ण सिटौला प्रमुख अतिथि रहेको भेलामा नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईसहित ६ जना प्रदेश सांसदहरू सहभागी भएका छन् ।

प्रदेश सांसदहरू सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ, खगेश्वरी पौडेल तथा प्रदेश पर्यटन मन्त्री भीम पराजुली पनि बैठकमा सहभागी छन् । मन्त्री पराजुलीका अनुसार विशेष महाधिवेशनपछिको राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल केन्द्रित छ ।

विराटनगरको बिग होटलमा भएको भेलामा नेताहरू मीन विश्वकर्मा, पूर्वमुख्यमन्त्री केदार कार्की, प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङ सचिव सचिव मोदनाथ घिमिरे पनि सहभागी छन् ।

नेविसंघ मोरङ सभापति सरोज पोख्रेलसहितका विद्यार्थी नेता पनि भेलामा सहभागी छन् । भेलामा सहभागी भीम पराजुली र पूर्वमन्त्री भूपेन्द्र यस अघिदेखि नै सिटौला समूहमा थिए । केदार कार्की भने डा. शेखर कोइराला गुटमा थिए । सिटौला समूहबाट कोशी संसदीय दलको नेतामा निर्वाचित भएका उद्धव थापा भने भेलामा सहभागी छैनन् ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पनि कांग्रेसको गुट भेला रोकिएको छैन । केही दिन अघि मात्र विराटनगरमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितको उपस्थितिमा प्रदेशस्तरीय सभा भएको थियो ।