विराटनगर । उदयपुरको कटारी अस्पतालमा शवको पोस्टमार्टमका विषयमा भएको विवादका कारण अस्पतालमा तनाव भएको छ । दुर्घटनामा परि मृत्यु भएको व्यक्तिको शबको पोस्टमार्टमको विषयमा भएको विवादका कारण तनाव भएपछि अस्पतालका डाक्टरले समेत राजीनामा दिएका छन् ।

समयमा शवको पोष्टमार्टम नगरेको र शवमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध गरेपछि कटारी अस्पताल तनावग्रस्त भएको प्रहरीले जनाएको छ । कटारी नगरपालिका  वडा नम्बर –२ गिद्धबारमा विद्यार्थी लिन जाँदै गरेको स्कुल बसबाट खसेर सहचालकको हिजो  मृत्यु भएको थियो  । घटनापछि शव संरक्षण र पोस्टमार्टम व्यवस्थापनलाई लिएर मृतकका आफन्त तथा स्थानीयवासीले विरोध जनाएपछि प्रादेशिक अस्पताल कटारी हिजो दिनभर तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बिहान सौगात एकेडेमी बोर्डिङ स्कुलको लु प्र ०१–००१ ख ०९८५ नम्बरको बस कटारी–१ बेलसोततर्फ जाँदै गर्दा बसको ढोकाबाट खसेर कटारी–२ का अन्दाजी ३१ वर्षीय उत्तम थापा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा प्रादेशिक अस्पताल कटारीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव व्यवस्थापनमा समस्या देखिएपछि अस्पताल परिसरमा विवाद चर्किएको थियो । शव संरक्षणका लागि प्रयोग हुने फ्रिज सञ्चालनमा समस्या आएपछि शव राख्ने विषयमा असन्तुष्टि बढेपछि स्थानीयले प्रदर्शन गरेका थिए  । 

प्रादेशिक अस्पताल कटारीका प्रमुख डा गौरव साहले विद्युत् आपूर्तिमा आएको समस्याका कारण हालै जडान गरिएको शव संरक्षण फ्रिज प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । उनका अनुसार उपकरण मर्मतको प्रयास भइरहेका बेला केही व्यक्तिले आक्रोश व्यक्त गर्दै अस्पतालमा होहल्ला गरेका थिए ।सोही विषयमा भएको विवाद र तनावपछि साहाले प्रादेशिक अस्पताल कटारी छाडेका बताएका छन् । उनी २०७३ फागुन २१ गते देखि अस्पतालमा मेसुको रूपमा कार्यरत थिए ।