विराटनगर । भारतको बथनाह देखि विराटनगर सम्म रेलमार्ग निर्माणका लागि सरकारले प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष ८३ ८४ को बजेट प्रस्तुत गर्दै निर्माणाधीन बथनाह विराटनगर रेलमार्गका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

 वथनाहा देखि मोरङको कटारी सम्मका लागि रेलमार्ग निर्माण भइरहे पनि मुअब्जा विवादले काम अगाडि बढ्न सकेको छैन ।

यसैगरि अर्थमन्त्री वाग्लेले  कोशी प्रदेशको पूर्वाधार, ऊर्जा, र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन् । उनले कोशी कोरिडोर निर्माणलाई प्राथमिकतामा राखेको बताए ।

उनले ठुला जलविद्युत् आयोजना र खेलकुद संरचना निर्माणका लागि पनि बजेट विनियोजन गरेको बताए । उनले  बजेटमा कोशी कोरिडोरको निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरेका छन् । उनले  यसै आर्थिक वर्षभित्र उक्त कोरिडोरको १५ किलोमिटर खण्ड कालोपत्रे गरिने बताएका छन् । 

कोशी प्रदेशलाई ऊर्जाको केन्द्रका रूपमा विकास गर्न सरकारले अरुण नदीमा आधारित आयोजनाहरूलाई प्राथमिकता दिने बताए ।

अर्थ मन्त्री वाग्लेले  अरुण ४ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिने र निर्माणाधीन अरुण तेस्रो तथा तल्लो अरुण आयोजनाको विकासका लागि सरकारले सहजीकरण गर्ने नीति लिएको बताए । उनले  कोशी प्रदेशमा खेलकुदको विकासका लागि ठुला पूर्वाधारका योजनाहरू अघि सारेका छन् । 

विराटनगरमा २ हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने र यसका लागि बजेट विनियोजन गरेको बताए । उनले  विराटनगरमै एक आधुनिक क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको बताए ।