सुनसरी । ऐतिहासिक रूपमा इनरुवा स्थापना र विकासमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ ।
वि.सं. १९८८ जेठ १५ गते झोडा फडानी गरी सुनसरीको सदरमुकाम इनरुवा स्थापना गर्न भूमिका खेलेका व्यक्तित्वहरूलाई ‘इनरुवा डे’को अवसरमा शुक्रबार सम्मान गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी र उपप्रमुख विनिताकुमारी मेहताले दोसल्ला, खादा, ताम्रपत्र र सम्मानपत्र प्रदान गर्नुभयो ।
गणतन्त्र दिवसको अवसरमा मनाइएको ‘इनरुवा डे’ कार्यक्रममा विभिन्न क्षेत्रका ३३२ जनालाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
सम्मानित हुनेमा ‘इनरुवा पहिलो’ व्यक्ति ६९ जना, विद्यावारिधि गर्ने २४ जना, राष्ट्रिय खेलाडी १३ जना, वरिष्ठ अधिवक्ता सात जना, ज्येष्ठ नागरिक २० जना, सामाजिक सङ्घसंस्था ३२ वटा, एसएलसी तथा एसईईमा उत्कृष्ट ३५ जना र जग्गादाता १३१ जना रहेका छन् ।















