पथरी । शैक्षिक वर्ष २०८३ को औपचारिक पठनपाठन सुरु हुनु अगावै पथरी शनिश्चरेस्थित श्री पञ्चायत माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। एसइई परीक्षामा जिपिए ४.० सहित नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो। विद्यालयको विज्ञान ब्लकस्थित सभा हलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले गरेका थिए।
कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै प्रधानाध्यापक बुढाथोकीले पञ्चायत मावि भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर दुवै हिसाबले सक्षम रहेको दाबी गरे। ‘हाम्रो विद्यालय केवल गर्विलो इतिहास बोकेको संस्था मात्र होइन, बरु विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने एउटा बलियो आधार स्तम्भ हो, प्रअ बुढाथोकीले भने। अङ्ग्रेजी शिक्षक गणेश विष्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न विषयका शिक्षकहरूले विद्यार्थीलाई उत्प्रेरणा जगाउँदै विषयगत मार्ग निर्देशन गरेका थिए। शिक्षकहरू द्रोण सिग्देल (रसायन विज्ञान), नारायण खनाल (भौतिक विज्ञान), चक्रधर गौतम (जीवविज्ञान), सरोज अधिकारी (नेपाली), उपेन्द्रकुमार मण्डल (गणित) र अर्जुन परियार (कम्प्युटर प्रशिक्षक)ले विषयगत पठनपाठनको महत्त्व, अध्ययन व्यवस्थापनका तौरतरिका, परीक्षा प्रणाली, विद्यालयले गर्ने सहजीकरण र करियर निर्माणका आधारहरू प्रस्तुत गरेका थिए।
सकारात्मक र सृजनशील प्रस्तुतिपछि, भर्नाका क्रममा विद्यालयविरुद्ध फैलाइएका भ्रामक प्रचार र नियोजित भ्रमहरूबाट मुक्त हुँदै विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए।
सकारात्मक र सृजनशील प्रस्तुतिपछि, भर्नाका क्रममा विद्यालयविरुद्ध फैलाइएका भ्रामक प्रचार र नियोजित भ्रमहरूबाट मुक्त हुँदै विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए।विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष युवराज बास्कोटाले सामुदायिक विद्यालयको विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिचको सहकार्य प्रगाढ हुनुपर्नेमा जोड दिए। उनले भने, ‘सामुदायिक विद्यालयमाथि हुने गरेका प्रहारहरूलाई हामीले गफले होइन, उत्कृष्ट नतिजाले जवाफ दिनुपर्छ।’ विषयगत सिकाइ र उत्प्रेरणा जगाउने पञ्चायतको यो प्रयास फलदायी रहेको उनको ठहर थियो।
कोशी प्रदेश सरकारको नमुना विद्यालय प्रवर्धन कार्यक्रम अन्तर्गत छनौट भएको यस पञ्चायत माविमा विज्ञानबाहेक अन्य ८ वटा विषयगत धारमा पठनपाठन हुने गरेको छ। यो विद्यालय पथरी शनिश्चरे नगरपालिकाका मात्र नभई लेटाङ, कानेपोखरी, सुनवर्षी, उर्लाबारी तथा छिमेकी जिल्ला झापाका विभिन्न पालिकाहरूबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्।
















