विराटनगर । इलामको सूर्योदय नगरपालिकामा बन्द रहेका चिया उद्योगहरू सञ्चालनमा आएका छन् । भारतीय टी बोर्डको अवरोधका कारण नेपाली चिया भारत निर्यात हुन नसकेपछि इलामका चिया उद्योग बन्द भएका थिए । निर्यातमा अवरोध भएपछि उत्पादन भएको चिया भण्डारण गर्न नसकिने, किसानलाई भुक्तानी गर्न नसकिने भन्दै असार १ गते बाट सूर्योदय नगरपालिकामा रहेका ५३ वटा चिया उद्योग बन्द भएका थिए ।
चिया उद्योगीको समस्या समाधान गर्न सूर्योदय नगरपालिका र सङ्घीय सरकारले प्रतिबद्धता जनाएपछि बन्द भएको चिया उद्योग खोल्न सहमति जुटेको छ । असार १ गतेबाट बन्द भएका उद्योग सञ्चालन गर्ने र किसानसँग हरियो पत्ती किन्ने निर्णय भएको सूर्योदय अर्थोडक्स चिया उत्पादक सङ्घले जनाएको छ ।
स्थानीय तहसँग भएको वार्ता र सङ्घीय सरकारले चिया क्षेत्रको समस्या समाधानका लागि गठन गरेको कार्यदलको आश्वासन पछि उद्योग सञ्चालन गर्ने निर्णय भएको सङ्घले जनाएको छ । उद्योगहरू बन्द भएपछि प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रको समस्या दिगो रूपमा समाधान गर्न उच्च स्तरीय कार्यदल गठन गरेको थियो । यस्तै व्यवसायी उद्योगी र सम्बन्धित मन्त्रालयहरूसँग भएको समस्या समाधानका लागि पटक पटक बैठक र छलफल भएको थियो । छलफल सकारात्मक भएकाले उद्योग खोल्ने सहमति भएको सङ्घले जनाएको छ ।
सङ्घका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बुले जारी गरेको विज्ञप्तिमा चिया उद्योग, किसान र श्रमिकका समस्याहरूको दीर्घकालीन समाधान खोज्नका लागि उच्चस्तरीय कार्यदल गठन भएको र स्थानीय तह ले देखाएको सक्रियताले उद्योगहरू खोल्ने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा उद्योगहरूले गुणस्तरीय चिया मात्र प्रशोधन गर्ने र विषादीरहित एवं गुणस्तरीय चिया उत्पादनलाई प्राथमिकता उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, सङ्घले आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अर्थोडक्स चिया उत्पादनमा विशेष जोड दिने र वैकल्पिक अन्तर्राष्ट्रिय बजारको विकास र विस्तारका लागि पहल गरिने छ । सूर्योदयका चिया उद्योगीसँग भएको वार्तामा सूर्योदय नगरपालिकाले उत्पादन भएको चिया भण्डारणका लागि गोदाम दिने प्रतिबद्धता जनाएको छ ।
सङ्घले उत्पादन भएको चिया निर्यातमा अवरोध भएका कारण उत्पादन भएको चिया भण्डारणमा समस्या हुने भन्दै उद्योग बन्द गर्ने निर्णय गरेको थियो । यस्तै चिया नबिक्दा किसानलाई भुक्तानी गर्न समेत समस्या हुने भन्दै उद्योग बन्द गर्ने निर्णय गरेको थियो ।

















