सुनसरी — निर्माण सम्पन्न भएको करिब एक वर्षपछि धरानको बहुप्रतिक्षित स्मार्ट बसपार्क सञ्चालनमा आएको छ।
धरान उपमहानगरपालिका–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत निर्माण गरिएको आधुनिक बसपार्कको शनिबार कार्यवाहक नगरप्रमुख आईन्द्र विक्रम बेघा ले उद्घाटन गरेका हुन्।
करिब २७ कठ्ठा क्षेत्रफलमा फैलिएको बसपार्कमा बेसमेन्टसहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ।
बसपार्कमा एकैपटक ३८ वटा बस तथा १८ वटा जिप, ल्याण्डरोभर र ट्याक्सी पार्किङ गर्न सकिने क्षमता रहेको छ। साथै अण्डरग्राउण्ड पार्किङको समेत व्यवस्था गरिएको छ।
भुइँतलामा १ सय ५ सिट क्षमताको यात्रु प्रतीक्षालय, २५ वटा टिकट काउन्टर, एटीएम, सीसीटीभी तथा सुरक्षा कक्ष, महिला, पुरुष र अपाङ्गमैत्री सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा अन्य व्यावसायिक प्रयोजनका लागि भाडामा सञ्चालन गर्न सकिने स्थानहरु निर्माण गरिएका छन्।
कार्यवाहक नगरप्रमुख बेघाका अनुसार आयोजनाको कुल लागत अनुमान ३३ करोड ७० लाख ४७ हजार २३८ रुपैयाँ रहेको छ।
प्रारम्भिक ठेक्का सम्झौता २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा भए पनि परिमार्जनपछि लागत २४ करोड ९१ लाख ३ हजार ९५८ रुपैयाँ कायम गरिएको थियो।
हालसम्म आयोजनामा २४ करोड ८६ लाख ९ हजार १४९ रुपैयाँ खर्च भइसकेको छ।
बसपार्क निर्माणका लागि २०७८ असार ३० गते ठेक्का सम्झौता गरिएको थियो।
२०८१ असार ३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि उच्च अदालत विराटनगर को अन्तरिम आदेशका कारण निर्माण अवधि नौ महिना थप्नुपरेको थियो।
सञ्चालनमा आएसँगै धरानको सार्वजनिक यातायात व्यवस्थापन थप व्यवस्थित हुने, यात्रुलाई सहज सेवा उपलब्ध हुने र शहरको ट्राफिक व्यवस्थापनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

















