विराटनगर। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५ औँ जन्म जयन्तीको अवसरमा मोरङमा आयोजित जिल्ला स्तरीय अन्तर–माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा मेरिल्यान्ड माविका सुरज यादव प्रथम भएका छन्। नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश समितिले विराटनगरस्थित श्री जनपथ माविमा आयोजना गरेको प्रतियोगितामा ५४ जना प्रतिस्पर्धीलाई पछि पार्दै यादवले शीर्ष स्थान हासिल गरेको छ। ‘नेपाली खेलकुद: सम्भावना र चुनौतीहरू’ विषयक उक्त प्रतिस्पर्धामा मोरङका २० माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ मा अध्ययनरत ५५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा सुन्दरहरैंचास्थित सिद्धार्थ माविका शरण परियार दोस्रो, पोखरिया माविकी सोनिया तिम्सिना तेस्रो, सगरमाथा बोर्डिङ स्कुलकी आराध्य कर्ण चौथो र सेन्ट म्यारीकी निर्जला भण्डारी पाँचौँ हुन सफल भए। खेलकुद महासङ्घ कोशीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो देखि पाँचौँ स्थान प्राप्त गर्ने विजेताहरूलाई क्रमशः नगद ५ हजार १००, ३ हजार १००, २ हजार १००, १ हजार १०० र १ हजार रुपैयाँसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका संयोजक तथा खेलकुद महासङ्घ केन्द्रीय विज्ञ आयोगका उपाध्यक्ष दिपेश बास्तोलाले प्रतियोगितामा विद्यार्थीहरूलाई अङ्ग्रेजी र नेपालीमध्ये आफूलाई सहज लाग्ने कुनै एक भाषामा प्रस्तुति दिन पाउने व्यवस्था गरिएको जानकारी दिए। नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका संस्थापक सदस्य सचिव पर्शुराम बस्नेतले उद्घाटन गरेको यस प्रतियोगिताको स्थानीय व्यवस्थापन जनपथ माविले गरेको थियो ।

















