विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनका विषयमा एमाले भित्र भएको विवाद समाधानका लागि विकल्प निकालिएको छ ।
पार्टी र संसदीय दलका बिचमा मुख्यमन्त्री फेर्ने विवाद बढ्दै गएपछि पार्टीका शिर्ष नेताहरुसँगको छलफल पछि टुङ्गोमा पुग्ने सहमति जुटेको हो ।
सहमति पछि नेकपा एमाले कोशी प्रदेश समितिले बोलाएको प्रदेश सभा सदस्यहरूको बैठकमा पार्टी सचिव तथा इन्चार्ज शेरधन राईले सहमतिमा समस्या समाधान गर्ने बताए ।
बैठकमा नेकपा एमालेका सचिव तथा मुख्यमन्त्री हिक्मत कुमार कार्की, एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उप नेता तिलकुमार मेन्यांवो, प्रमुख सचेतक रमेश बस्नेत सहित २५ जना प्रदेश सभा सदस्यहरूको उपस्थिति थियो ।
बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले बैठक सौहार्दपूर्ण ढङ्गले सकिएको बताए । उनले भने, पार्टी भित्रको समस्या पार्टी भित्रै बसेर हल गरौँ भन्ने प्रस्ताव इन्चार्जबाट आयो । उहाँले नेकपासँग भएको तीन बुँदे सहमतिका बारेमा जानकारी गराउनु भयो । पार्टीको समस्या पार्टी भित्रैबाट हल गरौँ भन्ने भएपछि हामीले ताली बजायौ ।
मुख्यमन्त्री फेर्ने विषयमा विवाद भएपछि पार्टी इन्चार्ज राईले हिजो र अस्ति प्रदेश सभा सदस्य, पार्टीका जिल्लाका इन्चार्ज तथा जिल्ला अध्यक्षहरूसँग छलफल गरेका थिए । छलफल पछि सरकार पुनर्गठनका विषयमा छलफल गर्न आज प्रदेश सभा सदस्यहरूको भेला डाकिएको थियो ।
इन्चार्ज राईले पार्टी अध्यक्षको निर्देशन अनुसार कोशीमा मुख्यमन्त्री फेर्ने विषयमा छलफल अगाडि बढाएका थिए । तर मुख्यमन्त्री कार्कीले पार्टीको संस्थागत निर्णय बिना आफू मुख्यमन्त्रीबाट नहट्ने अडान लिएका थिए । पार्टी अध्यक्ष केपी ओलीले कोशीको मुख्यमन्त्री तिलकुमार मेन्यांवोलाई बनाउन निर्देशन दिएका थिए ।
तर पार्टी अध्यक्षको निर्देशन आफूलाई नआएको र औपचारिक निर्णय समेत नभएको भन्दै मुख्यमन्त्री कार्कीले राजीनामा पनि नदिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने अडान लिएपछि दलको नेता फेर्न समेत तयारी भएको थियो ।
दलको नेता फेर्दापनि पार्टी अध्यक्ष केपी ओलीको निर्देशन कार्यान्वयनमा जटिलता आएपछि अध्यक्षसँगकै बैठकबाट हल खोज्न इन्चार्ज राई र मुख्यमन्त्री कार्की बिचमा सहमति जुटेको श्रोतले जनाएको छ । सोही सहमति अनुसार आजको बैठकमा इन्चार्ज राईले मात्रै बोलेका थिए ।
इन्चार्जले बोलेपछि हामीले केहि बोल्नु पर्ने नै भएन । प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले शीर्ष नेताहरूले समस्याको हल खोज्ने भनेपछि अरू कसैले केहि बोल्नु भएन ।
बैठकमा सहभागी मुख्यमन्त्रीले समेत बैठकमा बोल्नु भएन । भण्डारीले भने, अव एक दुई दिन भित्रमा शीर्ष नेतहरुसँगको बैठकपछि मुख्यमन्त्री फेर्ने की हिक्मत कार्कीलाई निरन्तरता दिने भन्ने विषयको टंगो लाग्छ ।
पार्टी अध्यक्ष लगायतका शीर्ष नेताहरूसँगको बैठकका लागि मुख्यमन्त्री कार्की भोली काठमाडौँ जाने तयारीमा छन् ।
बैठक पछि इन्चार्ज शेरधन राईले पार्टी पार्टी अध्यक्षको निर्देशन कार्यान्वयनमा केहि संवैधानिक सङ्कट देखिएकाले एक देखि डेढ साता भित्रमा समस्याको हल खोजिने बताए । उनले आन्तरिक समस्याको हल पनि आन्तरिक रूपमा नै खोज्ने बताए ।
बैठक पछि मुख्यमन्त्री कार्कीले पार्टी एक ढिक्का बनाउने विषयमा सहमति भएको बताए । उनले नेपाली कम्युनिस्ट पार्टीसँग भएको सम्झौता कार्यान्वयनमा नेकपा एमालेमा विवाद नरहने बताए ।

















