विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचनमा जनताले अन्त भोट हालेर गल्ती गरेको बताए । मिसन जनजागरण अभियानको झापामा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले देश र जनताको पक्षमा काम गर्नेहरूलाई मत नहालेर अन्त भोट हालेर गल्ती गरेको बताए ।
उनले भने,‘ जनताले गरेको गल्ती पनि सच्याउनु पर्ने छ । हामीले पनि सच्चिएर अगाडि बढ्न पर्ने छ । त्यसका लागि हामी जनताकोमा जानु पर्ने छ । उनले यसका लागि अहिले पार्टीमा एकता आवश्यक रहेको बताए । उनले भने, ‘अहिले गुटबन्दी गर्ने बेला होइन पुनर्जागरण गर्ने बेला हो ।’ गुटबन्दीले पटक पटक पार्टी फुटाएको बताए ।
उनले भने, ‘गुटबन्दीमा जहिले पनि तीनै मान्छे छन् । पार्टीका पक्षमा होइन अरू कसैको पक्षमा लागेर गुटबन्दीमा लागेका छन् । ’उनले पार्टीको पुनर्गठनको नाममा अध्यक्ष हटाउने अभियान थालेको भन्दै यसलाइ पुनर्गठन भन्न नमिल्ने बताए । उनले भने, राधे राधे ओढ्ने अनि भित्र बाट छुरा रोप्ने काम पुनर्गठन नभएको बताए ।
सिया रामको ओढ्ने ओढेर छुरा रोप्ने कुरा पार्टीलाई स्वीकार्य नहुने बताए । उनले भने,‘अहिले अध्यक्ष फेर्ने भनेर केही मान्छेहरू लागेका छन् तर कस्का लागि फेर्ने किन फेर्ने हो ? कार्यकर्ताले त फेर्ने कुरा गरेको सुनेको छैन ।’ अध्यक्ष ओलीले पार्टी पुनर्गठनको कुरा वास्तविक नभएको दाबी गरे । कुनै कमिटीको वा कुनै जनवर्गीय सङ्गठनहरूको पुनर्गठनको कुरा भएको हुनसक्ने बताउँदै उनले यसअघि भएका पुनर्गठनजस्तो अहिलेको नभएको बताए । ‘पुनर्गठन भनेको एउटा नीति, गन्तव्य, सङ्घर्ष र कार्यक्रमसम्म नयाँ बनाउने कुरा हो,’ उनले भने, ‘आज हामीले पुनर्गठनको बेलामा होइन । पुनः जागरण गर्ने बेला हो ।
अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको आन्दोलन हुल्लडबाजीका माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयास भएको दाबी गरेका छन्।अध्यक्ष ओलीले देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ को निर्वाचनको तमासामार्फत वैधता दिने काम भएको आरोप लगाए। प्रतिनिधि सभा पुनः स्थापनाको मागमा अन्य राजनीतिक दलहरूले एमालेलाई मात्र असर पर्ने ठानेर साथ नदिएको चर्चा गर्दै अध्यक्ष ओलीले चुनावलाई एमालेका लागि खनिएको खाल्डो मानेर बसेका दलहरू आफैँ फसेको दाबी गरे।

















