विराटनगर । मन्त्रालय परिवर्तन भएपछि कोशी प्रदेश सरकारका मन्त्री इन्द्रमणी पराजुलीले असन्तुष्टि व्यक्त गर्दै मन्त्रालय सम्हाल्न आनाकानी गरेका छन् ।
कोशी प्रदेश सरकार पुनर्गठनका क्रममा मन्त्री पराजुलीलाई आन्तरिक मामिला मन्त्रालयको सट्टामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । आफूलाई जानकारी नै नदिई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका भन्दै मन्त्री पराजुली असन्तुष्ट बनेका छन् ।
कोशी प्रदेश सरकार पुनर्गठन हुँदा मन्त्री आन्तरिक मामिला मन्त्रालय नेकपाको भागमा परेको थियो । नेकपाको भागमा आन्तरिक मामिला मन्त्रालय परेपछि नेकपाको तर्फबाट गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन् ।
नियुक्त भएका मन्त्रीहरूले हिजो नै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनी भने आज सम्म मन्त्रालय गएका छैनन् । मन्त्री पराजुली शपथ ग्रहण कार्यक्रममा भने सहभागी भएका थिए । उनी ढिला गरी शपथ ग्रहण कार्यक्रममा पुगेका थिए । उनीसँगै आन्तरिक राज्य मन्त्री उमाकान्त गौतम समेत मन्त्रालय गएका छैनन् ।
उनी यस अघि अन्तरीक मामिला तथा कानुन राज्य मन्त्री थिए । सरकार पुनर्गठन हुँदा सामाजिक विकास मन्त्री रामप्रसाद महतोको मन्त्रालय पनि हेरफेर भएको थियो । उनी उद्योग कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । मन्त्री महतोले भने मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
बरियातामा सबै भन्दा तल राखेको र आफूलाई नसोधी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेपछि पराजुलीले असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री पराजुलीले मन्त्रालय र कार्यकक्ष बनी नसकेकाले मन्त्रालय नगएको बताए । तत्कालनि जनस्वास्थ्य कार्यालयको भवनमा बस्दै आएको स्वास्थ्य मन्त्रालय केही समय अघि सारिएको छ । भाडाको घरमा सारिएको मन्त्रालयको काम सकिएको छैन ।
उनले भने, अहिले सम्म मन्त्रालय गएको छैन । पार्टीसँग छलफल गर्दैछु । उनले आफूलाई प्रदेश सभा सदस्य पनि पार्टीले बनाएको र मन्त्री पनि पार्टीले बनाएकाले पार्टीसँग सल्लाह गरेर मात्रै मन्त्रालय जाने बताए । उनले भने, मेरो व्यक्तिगत कुरा केही छैन । पार्टीले जा भन्दा जाने हो नजा भन्दा नजाने हो । भोली सम्ममा सबै कुरा टुङ्गिन्छ ।
उनले मुख्यमन्त्री कार्कीसँग छलफल नभएको समेत बताए ।
यस अघि पार्टी अध्यक्ष केपी ओलीको निर्देशन भन्दै मुख्यमन्त्री फेर्ने कसरत भएको थियो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टीको संस्थागत निर्णय नआएसम्म मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएपछि उनी विरुद्ध हस्ताक्षर अभियान सञ्चालन भएको थियो ।
मुख्यमन्त्री फेर्न भएको हस्ताक्षर अभियानमा मन्त्री पराजुली समेत सक्रिय भएका थिए । उनले हस्ताक्षर नगरे पनि पार्टीको निर्देशन पालना गर्नु पर्ने बताउँदै आएका थिए । मुख्यमन्त्री कार्की विरुद्ध हस्ताक्षर सङ्कलन अभियानमा सक्रिय भएपछि मन्त्री पराजुली र मुख्यमन्त्री कार्कीको सम्बन्ध चिसिएको थियो ।

















