सुनसरी । सप्तकोशी र यसका सहायक नदीहरूमा पानीको बहाव निरन्तर बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले एक सूचना जारी गर्दै नदी तटीय क्षेत्रमा पानीको बहाव बढेकाले सम्भावित जोखिम बढेको भनेको छ । पानीको बहाव बढेसँगै जोखिम सिर्जना हुन सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
प्रहरीले तटीय क्षेत्रका बासिन्दाहरूलाई माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न र पूर्ण सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।
प्रहरीले सम्भावित विपद्बाट जोगिन पूर्वतयारी र सतर्कता अपनाउन स्थानीयवासीलाई सूचित गराएको छ।

















