विराटनगर । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको मिति नजिक आउँदै गर्दा काँग्रेस भित्रका गुट उपगुटहरूमा फेरबदल आएको छ । काँग्रेसको १४ औँ महाधिवेशन सम्म शेरबहादुर देउवा र डा शेखर कोइरालाका प्रिय पात्रहरुहरुले नै अहिले धमा धम उनीहरूको साथ छाड्न थालेका छन् । साथ छाड्नेमा प्रभावशाली भनिएका कृष्ण सिटौला निकटहरू पनि छन् ।
पार्टी सभापति गगन थापाले घोषणा गरेको १६ औँ महधिबेशनमा सहभागी हुने की नहुनेमा अन्यौलता रहेका देउवा र डा कोइरालालाई आफू निकटकाले धमाधम साथ छाडेपछि दबाब सृजना भएको छ ।
कोइराला परिवारको लिगेसी बोकेका डा शेखरलाई अघिल्लो महाधिवेशन सम्म कोशिका नेताहरूको साथ थियो । तर विशेष महाधिवेशन हुँदै १५ औँ महाधिवेशन सम्म आइपुग्दा कोइराला एक्लिन थालेका छन् ।
नेपाली काँग्रेस १४ औ महाधिवेशन अन्तरगत तत्कालीन १ नम्बर प्रदेशको सभापतिमा कोइराला पौडेल पक्षबाट उम्मेदवार भएका थिए गुरुराज घिमिरे ।
कोइरालाका खास भनेर चिनिने घिमिरेले विशेष महाधिवेशनकै बेला साथ छाडे । कोसी प्रदेश सभापतिमा २ मतले उद्धव थापासँग पराजित भएका घिमिरे विशेष महाधिबेशाबाट महामन्त्रीमा निर्वाचित भए ।
सभापतिमा उम्मेदवार बनेर हारेका घिमिरेसँगै कोशीको अधिवेशनमा पौडेल कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका सुनसरीका उमेश थापा पनि अहिले कोइराला क्याम्प भन्दा पर पुगेका छन् ।
डा शेखर कोइराला समूह घोषित महाधिवेशनमा सहभागी हुने नहुने दोधारमा छन् तर थापा भने खुलेर महाधिवेशनको पक्षमा हिँडेका छन् । उनी वडा अधिवेशन र नगर अधिवेशन सम्पन्न गर्न लागि परेका छन् ।
प्रदेशको अधिवेशनमा कोइराला पक्षबाट सभापतिमा उम्मेदवार हुन चाहन्थे सुनसरीका राजीव कोइराला ।
अन्तिम समयमा राजीवको स्थानमा घिमिरे उम्मेदवार भए पनि राजिवले डा शेखरका साथ छाडेनन् ।
तर अहिले तिनै राजिवले पनि डा शेखरको साथ छाडेका छन् । उनीसँगै काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले पनि कोइराला क्याम्प छाडे ।
लिम्बु तिनै नेता हुन् जो डा। शेखरको कोटामा २०८० साल वैशाख २० गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए ।
लामो समय सुनसरीको नेतृत्वमा रहेका र अहिले पार्टी सभापति रहेका केदार भण्डारीले पनि कोइरालाको साथ छाडेका छन् । उनी सुनसरीको इनरुवा नगरपालिकाका मेयर समेत हुन ।
कोइरालालाई सधैँ साथ दिँदै आएका धेरै जसो नेताहरूले साथ छाडिसकेका छन् भने अझै केही भने पर्ख र हेरको अवस्थामा छन् ।
७९ को निर्वाचन पछि नेपाली काँग्रेस कोसी प्रदेश सभा संसदीय दलको नेताको निर्वाचनमा कोइराला निकट केदार कार्की उम्मेदवार बनेका थिए ।
उनले २९ मध्ये ९ मत पाए । अहिले कोसी प्रदेश सभामा उनीसँग त्यसको आधा मात्रै मत रहेको छ ।
डा शेखरलाई कोसी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री केदार कार्कीले भने साथ दिँदै आएका छन् । उनीसँगै विराटनगर महानगरका मेयर नागेश कोइराला पनि उनको पक्षमा छन् ।
देउवा सिटौलाको झन् बिजोग
आफ्नै प्रदेशमा एक्लिएका डा शेखर कोइराला जस्तै शेरबहादुर देउवा क्याम्पमा झन् कन्त बिजोग देखिएको छ ।
देउवा सत्ता र शक्तिमा हुँदा भोजपुरबाट राजनीति गर्न सुनसरी झरेका ज्ञानेन्द्रबहादुर कार्कीले कोशीको कमान्ड समाल्थे ।
देउवासँग काम परेर भेट्न पुगेका कोशिका नेताहरूलाई देउवाले भन्ने गर्थे, मलाई भेट्न पर्दैन ज्ञानेन्द्रसँग कुरा मिलाए भो । आज तिनै कार्कीले देउवालाई अफ्ठेरो पर्दा साथ छाडेका छन् ।
उनीसँगै पाँचथरका भीष्मराज आंदम्बे, सुनसरीकै मीन विश्वकर्मा,नेवी सङ्घका पूर्व केन्द्रीय सभापति राजीव ढुङ्गाना, विद्यार्थी सङ्घका नेता विकास केसीले पनि देउवा क्याम्प छाडेका छन् ।
यस्तै देउवा समूहमा रहेकी तेह्रथुमकी सिता गुरुङ, ओखलढुङ्गाका रामहरि खतिवडाले पनि देउवा क्याम्प छाडेकी छन् । उनी पूर्व मन्त्री समेत हुन् ।
यसै गरी संखुवासभाका तारामान गुरुङ, झापाका पार्टी सभापति देउमान थेबे, पूर्व केन्द्रीय सदस्य सुधीर सिवाकोटीले पनि देउवाको साथ छाडेका छन् । उनीहरू संस्थापन तर्फ लागेको झापाका काँग्रेस नेताहरूले बताए ।
उनीहरूसँगै नेपाली काँग्रेस कोशिका सभापति उद्धव थापाले पनि गुट छाडेका छन् । उनी प्रभावशाली नेता कृष्ण सिटौलासँग नजिक थिए । १४ औँ महाधिवेशनमा देउवा सिटौला एक भएपछि उनी सो समूहबाट उम्मेदवार भन्दै प्रदेश सभापतिमा विजयी भएका थिए ।
अहिले भने उनी दुवै समूह छाडेर संस्थापन गगनसँग निकट भएका छन् । यस्तै सिटौला प्रदेशका महामन्त्रीमा निर्वाचित भएका खोटाङका भूपेन्द्र राईले पनि सिटौला क्याम्प छाडेका छन् । उनी पनि महाधिवेशन सफल बनाउन केन्द्रित छन् ।
यस्तै सिटौला निकट मोरङका भीम पराजुलीले सिटौलाको साथ छाडेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै चार तारे झन्डा र रूख जहाँ हुन्छ त्यो मेरो र हाम्रो स्वाभिमान सँग जोडिएको छ भन्दै सिटौला क्याम्प छाडेका हुन् । उनी कोसी प्रदेश सरकारका पूर्व मन्त्री समेत हुन् ।
निवर्तमान केन्द्रीय सदस्य सरिता प्रसाईँले काँग्रेसमा चार तारे झन्डा र रुख चुनाव चिन्हले नेता तथा कार्यकर्ताको मन तान्ने बताइन् । उनले गगन थापाहरूसँग चार तार झन्डा र चुनाव चिन्ह रुख भएकाले नेता तथा कार्यकर्ता त्यता जानु स्वभावीक भएको बताइन् । उनले भनिन्, यो स्वाभाविक हो । जता चार तार झन्डा हुन्छ । काँग्रेसीको मत त्यतै हुन्छ । उनले आफू चाहिँ अहिले कुलिंग पिरियडमा रहेको बताइन् ।











