विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा भएको गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।गोली लागेर देवानगन्ज गाउँपालिका वडा नम्बर १ का नीरज यादव घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गरे । उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनले त्यहाँ प्रहरी परिचालन गरी सकेको र आफू म त्यहीँ पुग्न लागेको जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर पक्राउ परेकाको पहिचानसहितका विवरण प्रहरीले सार्वजनिक गरेको छैन । 

यस अघि साउनमा देवानगन्जमा दुई समुदायका बिचमा भएको झडप नियन्त्रणमा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको थियो ।  देवानगन्ज घटना पछि मधेस प्रदेशमा समेत हिंसा फैलिएको थियो ।