विराटनगर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी एमालेले कारबाही गरेको छ । नेकपा एमाले प्रदेश कमिटी पदाधिकारीको हिजो बसेको बैठकले शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
७९ को निर्वाचनमा एमालेबाट उप प्रमुखमा निर्वाचित भएकी शेर्पाले निरन्तर पार्टी विरुद्ध अभिव्यक्ति दिएको,पार्टी हित विपरीत कार्य गरेको भन्दै प्रदेश कमिटीले कारबाही गरेको हो । नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट कारवाहीका लागि सिफारिस भएर आएकाले कारबाही गरिएको बताए ।
उनले भने, निरन्तर पार्टी हित विपरीत कार्य गरेको पाइएपछि उपमेयर शेर्पालाई कारबाही गरिएको बताए । उनी एमाले प्रदेश कमिटी सदस्य समेत थिइन् । पार्टीले कारबाही गरेपछि शेर्पाको उप मेयर पद समेत जाने छ । यसका लागि एमालेले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । एमाले भोजपुरले साउन ८ गते शेर्पालाई कारवाहीका लागि प्रदेश कमिटी समक्ष सिफारिस गरेको थियो ।
यस्तै एमालेले भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नवीन प्रधानलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । भोजपुर जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका प्रधानका विषयमा जिल्ला कमिटीले गरेको सिफारिस प्रदेशले अनुमोदन गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३को दफा ३२९२० मा जनप्रतिनिधिलाई कारबाही सम्बन्धी व्यवस्था छ ।











