विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंगसले श्रीलङ्काका पूर्व कप्तान अलराउण्डर चारिथ असलंकालाई आफ्नो टोलीमा भित्राएको छ । उनी एनपीएलको तेस्रो संस्करणका विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगर किंगसले असलंकालाई आफ्नो टोलीमा भित्र्याएको छ ।
 २९ वर्षीय असलंका बायाँहाते ब्याटर तथा दायाँहाते अफ–ब्रेक बलर हुन् । उनी श्रीलंकाको सीमित ओभरको क्रिकेटमा महत्त्वपूर्ण मध्य क्रमका ब्याटरका रूपमा स्थापित छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको पदार्पण सन् २०२१ मा भएको थियो ।
असलंकासँग श्रीलङ्काका लागि तीन वटै ढाँचामा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अनुभव छ । एक दिवसीय क्रिकेटमा उनले ८३ खेलबाट २ हजार ७३४ रन बनाएका छन् भने पाँच शतक र १७ अर्ध शतक उनको नाममा छन् । त्यस्तै टी–२० अन्तर्राष्ट्रियमा ७६ खेलबाट १ हजार ४५६ रन बनाएका असलंकाले ६ अर्ध शतक प्रहार गरेका छन् । 

सन् २०२४ मा उनले न्युजिल्यान्डविरुद्धको एक दिवसीय तथा टी–२० शृङ्खलामा श्रीलंकाको कप्तानी गरेका थिए ।