सुनसरी - इनरुवाबाट प्रहरीले करिब डेढ टन गाँजाजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–१० जल्पापुरस्थित चम्राही टोलमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा बिहान करिब ३ बजे प्रहरी टोली पुगेको थियो।
प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवले को १ च ८२७९ नम्बरको टाटा पिकअपमा लोड गरिरहेको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
बरामद पदार्थको तौल १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम रहेको प्रहरीले जनाएको छ।
यादवलाई उक्त पदार्थ र पिकअपसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











