सुनसरी — बर्जु गाउँपालिकाबाट स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार गयराती विराटनगरबाट फारम चोकतर्फ आउँदै गरेको को २० प ११४९ नम्बरको मोटरसाइकललाई बर्जु गाउँपालिका–३ फारम चोकस्थित भित्री सडकमा शंका लागेर जाँच गरिएको थियो।
मोटरसाइकलको ट्यांकीमुनि लुकाइराखेको अवस्थामा नेपाली नगद ५ लाख ३० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले विराटनगर महानगरपालिका–१५ का २८ वर्षीय कृष्ण चौधरीलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद रकमको स्रोत नखुलेको जनाएको छ।
चौधरीविरुद्ध हुण्डीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











