सुनसरी । रातको समयमा सेउती खोलाबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको समाचार सार्वजनिक भएपछि रामधुनी नगरपालिका, प्रहरी प्रशासन र स्थानीयको टोलीले खोला क्षेत्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले खोला आसपासका स्थानीयसँग नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसारबारे जानकारी लिँदै त्यस्तो गतिविधि देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।
रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाका अनुसार सेउती खोला दोहन नियन्त्रणका लागि नगरपालिका, प्रहरी प्रशासन र स्थानीयको सहभागितामा अनुगमन गरिएको हो । उनका अनुसार खोलाको निगरानीलाई निरन्तरता दिन स्थानीयको सहभागितामा छुट्टै समिति पनि गठन गरिएको छ ।
‘खोलामा दोहन भएको गुनासो आएपछि हामीले अनुगमन गरेका छौं,’ थापाले भनिन्, ‘खोला आसपासका स्थानीयलाई पनि नदीजन्य पदार्थको उत्खनन वा ओसारपसार भएको देखिए तत्काल खबर गर्न आग्रह गरेका छौं ।’
उनका अनुसार सेउतीको निगरानी तथा दोहन नियन्त्रणका लागि रामधुनीका मनोज दाहालको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिले खोला आसपासको अवस्थाबारे निगरानी गर्ने तथा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारबारे सम्बन्धित निकायलाई जानकारी गराउनेछ ।
इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाको सीमाक्षेत्र हुँदै बग्ने सेउती खोलाको रामधुनी–७ आसपासबाट रातको समयमा ढुंगा, गिट्टी र बालुवा निकालेर विभिन्न स्थानमा भण्डारण गर्ने गरिएको स्थानीयले बताएका थिए । रामधुनी–७ र इटहरी–१९ का विभिन्न स्थानमा नदीजन्य पदार्थ थुपारेर राख्ने र पछि बिक्री गर्ने गरिएको उनीहरूको भनाइ थियो ।
सेउती दोहनबारे समाचार सार्वजनिक भएपछि स्थानीय तहले अनुगमन थालेको हो । यसअघि स्थानीयले रातको समयमा दर्जनौं ट्याक्टर खोला क्षेत्रमा पुग्ने गरेको र खोलाबाट निकालिएको नदीजन्य पदार्थ बस्ती आसपासका विभिन्न स्थानमा भण्डारण गर्ने गरेको बताएका थिए ।
स्थानीयले सेउती दोहनमा प्रहरी तथा वन कार्यालयका केही कर्मचारीको समेत मिलेमतो रहेको आरोप लगाएका थिए ।
विशेषगरी रामधुनी–७ स्थित पञ्चायन प्रहरी चौकी, इलाका प्रहरी कार्यालय पकली तथा तरहरा सब–डिभिजन वन कार्यालयका कर्मचारीमाथि स्थानीयले प्रश्न उठाएका थिए । उनीहरूले उत्खननमा संलग्न व्यक्तिबाट नियमित रकम उठाउने गरिएको आरोपसमेत लगाएका थिए ।
तर सम्बन्धित निकायले भने आरोप अस्वीकार गर्दै दोहन नियन्त्रणका लागि आफूहरूले पहल गरिरहेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सञ्जीव ओलीले सेउती दोहनबारे आफूहरूलाई पनि गुनासो आएको र नियन्त्रणका लागि पहल भइरहेको बताएका थिए ।
डिभिजन वन कार्यालय सुनसरीका निमित्त डिभिजनल वन अधिकृत रितेष भुषण बस्नेतले समेत सेउती क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्वीकार गर्दै वन कार्यालयबाट अनुगमन गरिएको बताएका थिए । उनका अनुसार अनुगमनका लागि खटिएका वन कर्मचारीमाथि समेत उत्खननमा संलग्नहरूले दुर्व्यवहार गरेको थियो ।
रामधुनी नगरपालिकाकी उपप्रमुख थापाले यसअघि पनि नगरपालिकाले सेउती दोहन रोक्न अनुगमन तथा नगर प्रहरी परिचालन गर्दै आएको र केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीसमेत गरेको बताएकी थिइन् ।
तर प्रहरी प्रशासन र वन कार्यालयबाट प्रभावकारी सहयोग नहुँदा पूर्ण रूपमा नियन्त्रण गर्न कठिन भएको उनको भनाइ थियो ।
अहिले स्थानीयको सहभागितामा ११ सदस्यीय समिति गठन गरिएपछि सेउतीको नियमित निगरानी गर्ने तयारी गरिएको छ ।
समितिले खोला क्षेत्रमा हुने उत्खनन, नदीजन्य पदार्थको ओसारपसार तथा भण्डारणबारे सूचना संकलन गर्ने र सम्बन्धित निकायलाई जानकारी गराउने नगरपालिकाले जनाएको छ । सेउतीमा भइरहेको उत्खननको वैधानिकतामाथि समेत प्रश्न उठेको छ ।
उत्खनन भइरहेको भनिएको क्षेत्र वन क्षेत्रसँग जोडिएको भएकाले त्यहाँ नदीजन्य पदार्थ निकाल्न सम्बन्धित कानुनी प्रक्रिया र अनुमति पूरा गरिएको छ कि छैन भन्ने विषय महत्वपूर्ण बनेको छ ।











