सुनसरी । २९ दिनसम्म मोबाइलको घण्टी बज्ने आशामा बसेको खड्का परिवारले शुक्रबार इटहरी मुक्तिघाटमा दुईवटा कुशको शव जलाएको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा बेपत्ता अम्बरकाजी खड्का र उनकी धर्मपत्नी मनकुमारी खड्काको शव फेला नपरेपछि परिवारले हिन्दू परम्पराअनुसार कुशको प्रतिकृति बनाएर अन्त्येष्टि गरेको हो ।
बाढी आएको दिनदेखि परिवारलाई एउटै प्रश्नले सताइरहेको थियो– अम्बरकाजी र मनकुमारी कहाँ छन् ? जीवित छन् कि छैनन् ? खोजीका अनेक प्रयास भए, आफन्तले विभिन्न ठाउँमा बुझ्ने प्रयास गरे, पहिचानका लागि डीएनए परीक्षणको प्रक्रियासमेत अघि बढाइयो । तर २९ दिन बितिसक्दा पनि उनीहरूको अवस्था पुष्टि गर्ने विश्वसनीय सूचना परिवारले पाउन सकेन । अन्ततः शव नभेटिए पनि संस्कार रोकिरहन नसक्ने अवस्थामा परिवार पुगेको हो ।
इटहरी–२० तरहराका ६५ वर्षीय अम्बरकाजी र ६४ वर्षीया मनकुमारी कैलाश मानसरोवर दर्शनका लागि घरबाट निस्किएका थि ए। धार्मिक यात्रामा निस्किएको दम्पतीको यात्रा रसुवाको भोटेकोशीमा पुगेपछि भने अचानक रोकियो । त्यही क्षेत्रको बाढीपहिरोपछि उनीहरू सम्पर्कविहीन भए । परिवारका अनुसार उनीहरूले रसुवा पुगेपछि घरमा सम्पर्क गरेका थिए । अम्बरकाजीले आफ्ना ९० वर्षीय बुवा चन्द्रबहादुरसँग समेत फोनमा कुरा गरेका थिए ।
सडकमा सवारीसाधनको जाम रहेको र केही समयपछि अगाडि बढ्ने बताएका थिए । त्यसपछि भने उनीहरूसँग परिवारको सम्पर्क हुन सकेन । त्यसपछि सुरु भयो– खबरको प्रतीक्षा । दिन बित्दै गए । परिवारका सदस्यहरू हरेक सम्भावित सूचनाको खोजीमा रहे । मोबाइलमा आउने हरेक फोनले केही क्षणका लागि आशा जगाउँथ्यो ।
कतैबाट अम्बरकाजी र मनकुमारीको खबर आयो कि भन्ने प्रतीक्षा हुन्थ्यो। तर हरेकपटक निराशा मात्रै हात लाग्यो । बेपत्ता भएको केही दिनसम्म परिवारले उनीहरू जीवितै भेटिने आशा राखेको थियो । प्राकृतिक विपत्तिपछि सम्पर्कविहीन भएका कतिपय व्यक्ति पछि सुरक्षित भेटिने घटनाले पनि परिवारलाई आशावादी बनाइरहेको थियो ।
तर दिन हप्तामा बदलियो। २९ दिन बित्यो । न त उनीहरू भेटिए, न त मृत्यु पुष्टि गर्ने शव नै । परिवारले पहिचानका लागि डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको थियो ।
जेठा छोरा सञ्जय खड्काले समेत आवश्यक नमुना दिएका थिए । शव भेटिएमा पहिचान गर्न सकिने आशामा परिवारले त्यसतर्फ पनि प्रक्रिया अघि बढायो ।
तर शव नभेटिएपछि त्यसले तत्काल परिवारको पीडा कम गर्न सकेन । अम्बरकाजीका वृद्ध बुवा चन्द्रबहादुरका लागि यो प्रतीक्षा अझ पीडादायी थियो ।
९० वर्षको उमेरमा पनि उनी छोराको फोनको प्रतीक्षामा थिए । छोरा यात्रामा गएको थियो, फर्किएर घर आउने विश्वास थियो । तर त्यो प्रतीक्षा विस्तारै अनिश्चिततामा बदलियो ।
छोरा र बुहारीको अवस्था के भयो भन्ने यकिन नहुँदा परिवारले न त उनीहरूलाई मृत घोषणा गर्न सक्ने अवस्था थियो, न त जीवितै छन् भनेर ढुक्क हुन सक्ने ।
यही दोधारमा २९ दिन बितेपछि परिवारले हिन्दू धार्मिक परम्पराअनुसार कुशको प्रतिकृति बनाएर अन्त्येष्टि गर्ने निर्णय गर्यो ।
शुक्रबार इटहरी मुक्तिघाटमा कुशको शव बनाएर अम्बरकाजी र मनकुमारीको अन्त्येष्टि संस्कार गरिएको हो ।











