विराटनगर । प्रदेशको नामकरणको विरोधमा घाइते भई मृत्यु भएका पदम लिम्बु लाजेहाङको आज अन्त्यष्टी  हुँदै छ । अन्त्यष्टी  अघि धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना  हुँदैछ । 
धरान र इटहरीमा श्रद्धाञ्जली सभा सम्पन्न भइसकेको र अव केही बेरमै विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना हुने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । 

विराटनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरी लाजेहाङको अन्यष्टी भने बेलबारीमा रहेको किराँत राई यायोख्खाको धार्मिक बन क्षेत्रमा गर्ने तयारी रहेको किराँत राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले बताए । 

कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भई मृत्यु भएका लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ । 
पहिचान आधारमा प्रदेशको नाम राखिनु पर्ने र कोशी प्रदेशको पुन नामकरण हुनु पर्ने माग सहित गत चैत ५ गते विराटनगरमा भएको  प्रदर्शनका उनी घाइते भएका थिए ।

झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।
टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि १० गते उनको मृत्यु भएको थियो । 
यसपछि प्रदेश पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए ।  लाजेहाङलाई सङ्घीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।