इटहरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार असार अगावै परिवर्तन हुने दाबी गरेका छन । सुनसरीको इनरुवामा सोमबार देवानगञ्ज ठुलो मदरसाबाट बबिया हुदै हनुमान चौक सडक स्तरउन्नती शिलन्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका कार्कीले कोशी प्रदेशमा सरकार परिवर्तनको तयारी भैरहेको बताए ।

कोशी प्रदेशमा सरकार परिवर्तन गरेपछी केन्द्र र प्रदेशमा अहिलेको गठबन्धनको सरकार पूरै पांच बर्षसम्म कायम रहने दाबी गरे । पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले गठबन्धन सरकार गठन हुने चर्चा परिचर्चा हुने गरेको भन्दै नेता कार्कीले केन्द्र र प्रदेशमा बर्तमान गठबन्धन दलको सरकार पांच बर्षसम्म कायमै रहने बताए ।

आगामी पांचै बर्षसम्म सरकार कायमै रहने उदेश्व अनुसार यो सरकार गठन भएको र बिचमा एक डेढ महिना अलमल भएपनि अहिले सरकार ठिक ठाउमा आईसकेको उनले दाबी गरे । सातै प्रदेशमा अहिलेको गठबन्धन दलको सरकार निर्माण गर्ने दलिय सहमती अनुसार कोशी प्रदेशमा पनि सरकार चाडै परिवर्तन हुने नेता कार्कीको भनाई थियो ।

मुलुकमा अस्थिरता रहिरहोस भन्ने एउटा तत्व रहेको र त्यसलाई परास्त नगरी देश समबृद्धतर्फ अघि बढ्न नसक्ने नेता कार्कीले बताए । भारतीय सिमावर्तीक्षेत्र देवानगञ्ज गाउपालिकाबाट सदरमुकाम इनरुवा जोड्ने २३ किलोमिटर सडकमध्ये १० किलोमिटर सडकको नेता कार्कीले शिलन्यास गरेका हुन  । कूल ३२ करोड ८३ लाखमा माहाबीर इञ्जिनियरिंग एण्ड कन्ष्टक्सनले ठेक्का पाएको उक्त सडकको तीनबर्षभित्र स्तरउन्नती गरिसक्ने बताइएको छ ।