इनरुवा । इनरुवा नगरपालिकामा स्थानीय पाठ्यक्रमको तयार पारे पनि पुस्तक छाप्न नसक्दा स्थानीय पाठ्यक्रम लागू गर्न सकेको छैन । १९ लाख रुपैयाँ खर्च गरेर पाठ्यक्रम तयार पारे पनि पुस्तक भने छाप्न सकेको छैन । पुस्तक छाप्न नसक्दा स्थानीय पाठ्यक्रममा पढाइ हुन नसकेको हो । 
सिभिल मिडिया एन्ड रिसर्च सेन्टरले स्थानीय पाठ्यक्रम निर्माण गरी स्वीकृत गराएको छ । स्वीकृत गराएको पाठ्यक्रमका आधारमा पुस्तक निर्माण गरेर एक प्रति २०७९ कार्तिकमै नगरपालिकालाई हस्तान्तरण गरेको छ । 
तर नगरपालिकाले पुस्तक छापेर नदिँदा पठन पाठन भने हुन सकेको छैन । सेन्टरका सञ्चालक विरेन्द्र केएमले आफूहरूको जिम्माको काम पाठ्यक्रम निर्माण गरी पुस्तकको कपि इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेका बताए । 
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी इनरुवा नगरपालिकाले तीन वर्ष देखी नगरभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने प्रयास गरेको छ  । 
त्रिभुवन माविका प्रधानाध्यापक राजेश्वरप्रसाद साहका अनुसार दुई वर्ष देखी स्थानीय पाठ्यक्रम लागु गर्ने हल्ला र मिडिया बाजी भए पनि हालसम्म पाठ्यक्रम र पुस्तक नदिएकाले अन्दाजकै भरमा पढाउनुपरेको छ । 

भगवती माविका शिक्षक एवम् नेपाल शिक्षक सङ्घका सुनसरी अध्यक्ष बेनु सिग्देलले  विद्यालयमा हालसम्म स्थानीय पाठ्यक्रम र पुस्तक नआएकाले पढाउन समस्या भएको बताए । 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कक्षा १ देखि ८ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विकास गरी लागू गर्न सकिने व्यवस्था गरेको छ । 

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले स्थानीय पाठ्यक्रम निर्माण भएको तर छपाई नभएकाले त्यसमा आफू लागिपरेको बताए । इनरुवा नगर क्षेत्रमा ३० वटा सामुदायिक विद्यालय रहेको छ ।