सुनसरी । कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेश सरकारले स्पष्टिकरण सोधेको छ । सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सदस्य सचिव हङ्शराज वाग्लेलाई स्पष्टीकरण सोधेका हुन । वैशाख १४ देखि १६ गतेसम्म झापाको दमकमा आयोजना भएको प्रदेश स्तरीय मुख्यमन्त्री पुरूष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम नलेखी प्रतियोगिता गरेको भन्दै स्पष्टीकरण बुझाउन मन्त्रालयले वाग्लेलाई पत्र काटेको हो ।
वाग्लेलाई प्रदेश खेलकुद ऐन २०७६ को दफा १२ को उपदफा १ ख बमोजिन प्रदेश खेलकुद बिकास बोर्डबाट भएका निणर्य कार्यन्वयन गर्ने गराउने र खण्ड च बमोजिम बोर्डको कार्य सञ्चालनमा अनुशासन र पारदर्शीता कायम गर्ने कानूनी कर्तब्य बिपरित प्रदेश सरकार र प्रदेश उल्लेख नगरी प्रतियोगिता सञ्चालन गर्नुको चिक्तबुझ्दो स्पष्टीकरण जवाफ एकसाता भित्र पेश गर्न पत्र काटिएको हो ।
बाग्लेलाई बैशाख १७ गते बसेको मन्त्रीस्तरिय निणर्य अनुसार स्पष्टिकरण सोधिएको सामाजिक बिकास मन्त्री राजभण्डारीले जानकारी दिए । एकसाताभित्र चिक्तबुझ्दो स्पष्टिकरण नआएको प्रक्रिया पुर्याएर बर्खास्त गरिने मन्त्री राजभण्डारीले बताए । कोशी प्रदेश नामाकरणको बिरोधमा पहिचानवादीहरुको आन्दोलनकैक्रममा दमकमा भलिबल प्रतियोगिता आयोजना गर्दा बिरोध भएको थियो ।
प्रतियोगिता उद्धघाटनको क्रममा पहिचानवादीहरु खेल मैदानमा प्रवेश गरी कोसी प्रदेश नामविरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाएपनि आयोजक प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेले उनीहरुलाई सम्झाइ बुझाइ प्रतियोगिता गराएका थिए । उक्त प्रतियोगिताको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले उद्धघाटन गरेका थिए ।
दमकस्थित हिमालय माबिको मैदानमा तीन दिनसम्म चलेको प्रतियोगताको लागि खेलकुद बिकास बोर्डले २० लाख रुपैया बिनियोजन गरेको थियो । कणर्ाली र बाग्मती प्रदेशले सहभागिता नजनाएको प्रतियोगितामा लुम्बिनी, मधेस, गण्डकी , कोसी र सुदूरपश्चिम प्रदेश सहभागी थिए । आयोजक कोसी प्रदेशलाई सोझो सेटमा हराउँदै गण्डकीले उपाधि सहित ३ लाख जितेको थियो । उपबिजेता कोशीले २ लाख पुरस्कार पाएको थियो ।
यसैबिच सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न बैंकलाई पत्राचार समेत गरेको छ । मन्त्री राजभण्डारीले सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण सोधेको दुइदिनपछी प्रभु बैंकको बिराटनगरस्थित तीनपैनी शाखालाई पत्राचार गर्दै खाता रोक्का गरिदिन भनेको हो । प्रदेशको नाम नराखी आफूखुसी प्रतियोगिता गरेको भन्दै त्यसको आर्थिकभार सरकारले नब्योहोर्ने जनाउदै बैक खाता रोक्का गरिदिन अनुरोध गरिएको मन्त्री राजभण्डारीले बताए ।
वाग्ले तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा नेकपा एकीकृत समाजवादीको कोटामा सदस्यसचिव नियुक्त भएका हुन् । अहिलको सामाजिक विकास मन्त्री राजभण्डारी नेकपा एमालेका हुन ।