सुनसरी । झुम्का कारागारमा रहेका अधिकांश कैदीबन्दीमा छालाजन्य रोगको संक्रमण फैलिएको पाइएको छ । जिल्ला प्रशासन कार्यलय, जिल्ला अस्पताल सुनसरी र कारागार प्रशासनको आयोजनामा तीनदिनसम्म चलेको निशुल्क स्वास्थ्य शिबिरमा अधिकांश कैदीबन्दीहरुमा छालाजन्य रोगको संक्रमण रहेको पाइएको हो ।

एउटै कोठामा क्षमताभन्दा बढी कैदीबन्दी सुत्ने र सरसफाइको कमीले छालाको रोग बढेको चिकित्सकको भनाई छ । तीनदिनसम्म चलेको शिबिरमा १ हजार ६ सय ८० मध्ये १ हजार २ सय कैदीबन्दीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन ।

शिबिरमा छाला सहित हाडजोर्नी, भिडियो एक्सरे, नाक, कान, घाटी, सर्जरी र मानशिक रोगको परिक्षण गरिएको जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेण्डेन डा. देबराज घिमिरेले जानकारी दिए ।

स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार भएको र कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने उदेश्वले कारागारमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन ।