सुनसरी । एक सातादेखी बढिरहेको अत्याधिक गर्मीका कारण पूर्बी तराई सहित मधेशको जनजीवन कष्टकर बनेको छ । लामो समयदेखी पानी नपर्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो ।

सुनसरी सहित तराई-मधेशका अधिकांश जिल्लामा एक सातादेखि मध्याह्नको अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियस पुग्न थालेको छ । अत्यधिक गर्मी र चर्को घामका कारण लु लाग्ने खतरा रहेकाले अत्यावश्यक काम नपरी घरबाट ननिस्कन र निस्किनै परेमा छाता अनिवार्य लिएर जान चिकित्सकहरूको सुझाव छ ।

घामबाट जोगिन रुखको छहारीमा बस्ने र चिसो कुरा खानेक्रम बढ्दो छ । विद्यालय बन्द गरिएकाले गर्मी छल्न बालबालिका पोखरी, तलाउमा नुहाउन जाने गरेका छन् । अत्याधिक गर्मी बढेपछि तराई मधेशका अधिकांश स्थानिय तहले विद्यालयहरुमा एक साता लामो बिदा दिइसकेका छन ।

पछिल्लो केही दिनयता गर्मी अत्यधिक बढेपछि विद्यार्थीहरुलाई विद्यालय जान समस्या भएको भन्दै ती स्थानिय तहहरुले एक साताका लागि सबै निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निणर्य गरेको हो ।