सुनसरी - धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खानेपानी समस्या चुलिदै गएपछी विद्यार्थीहरुलाई एक साताको विदा दिइएको छ ।
प्रतिष्ठान हाताभित्र पानीको चरम अभाव भएपछी मंगलबारदेखि एक साताको लागि विद्यार्थीहरुलाई विदा दिएको हो । प्रतिष्ठानको हस्पिटल र आवास तथा होस्टल क्षेत्रमा पर्याप्त खानेपानी आपूर्ति हुन नसकेको र साथै विद्यार्थीहरुले पनि लिखितरुपमा नै अनुरोध गरेको कारण एक साताको लागि पठनपाठन बन्द गर्ने निणर्य गरिएको एसिस्टेन्ट डिन डा.भम्मी सिंहले जानकारी दिइन ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिव शर्माले पानी अभावमा अस्पताल सेवा प्रभावित हुन नदिन बिद्यार्थीहरुलाई एक साता लामो बिदा दिनुपरेको बताए । विद्यार्थीहरुको पठनपाठन पछि पनि गर्न सकिने तर विरामीको उपचार सेवालाई रोक्न नसकिने जनाउदै एक सातालाई विदा दिइएको शर्माले प्रष्ट पारे । अत्याधिक गर्मी बढेको र पानीको पनि अभाव भएको भन्दै विद्यार्थीहरुले नै लिखितरुपमा बिदाको माग गरेका थिए ।
प्रतिष्ठानका अनुसार हस्पिटल सञ्चालनमा मात्रै दैनिक १५ लाख लिटर पानी आवश्यक छ । तर, आपूर्ति भने ५ लाख लिटर जति मात्र छ । ट्यांकरबाट किनेर हस्पिटल सेवा सुचारु गर्नुपरिरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानलाई खानेपानी व्यवस्थापन बोर्डले पनि ट्यांकरबाट पानी उपलब्ध गराउने गरेको छ ।
त्यसबापत प्रतिष्ठानले बोर्डलाई बार्षिक रकम उपलब्ध गराउने सम्झौता रहेको छ । तर, बोर्डले उपलब्ध गराएको उक्त पानी पर्याप्त नभएको प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानको होस्टलमा बसेर अध्यन गरिरहेका १ हजार ५ सय विद्यार्थीहरुलाई विदा दिएपछी हस्पिटल सेवामा पानी सहज हुने अपेक्षा गरिएको उपकुलपित डा.शर्माले बताए ।
धरान उपमहानगरका नगरप्रमुख हर्क साम्पाङले प्रतिष्ठानलाई पर्याप्त पानी दिएको दाबी गरेका छन । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख साम्पाङले मंगलबार मात्र २१ लाख लिटर पानी दिएको बताए ।
दैनिक १५ लाख लिटरको सम्झौता भएपनि २१ लाख लिटर दिदा समेत पानी अभाव भन्दै धरान उपमहानगरकै बेईज्वत गर्ने प्रयास भएको दाबी गरे ।