सुनसरी । अस्पताल स्थापनाको ४१ बर्षपछी जिल्ला अस्पताल सुनसरीमा रक्त सञ्चार सेवा केन्द्र अर्थात ब्लड बैक सञ्चालनमा आएको छ ।
रक्त सञ्चार सेवा केन्द्रको जिल्ला अस्पताल इनरुवामा आज(बुधबार) एक कार्यक्रमका बिच उद्धघाटन गरि सञ्चालनमा ल्याइएको छ । इनरुवा नगरपालिका र भोक्राहा गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहयोगमा अस्पताल परिषरमा रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
केन्द्र सञ्चालननमा आएसंगै सुनसरी सदरमुकाम इनरुवा सहित कोशी, हरिनगर, गढी, रामधुनी र भोक्राहा गाउपालिकाका सेवाग्राहीलाई फाइदा पुग्ने अस्पतालले जनाएको छ । केन्द्र स्थापनासंगै बिभिन्न स्थानिय तहबाट उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रगतकै अभावमा धरान या बिराटनगरको अस्पताल रेफर गर्नुपर्ने बाध्यता हटेको मेडिकल सुपरिटेण्डेन डा. देबराज घिमिरेले बताए ।
रक्तसञ्चार सेवा केन्द्र स्थापनासंगै अस्पतालमा उपचारत बिरामीहरुलाई सहुलियत दरमा रगत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
दैनिक ४ सय बिरामी उपचारका लागि आउने गरेको इनरुवा अस्पतालले तीन महिनाअघि आंखा उपचार सेवा समेत सुरु गरेको थियो ।