सुनसरी । सुनसरीमा डेंगुको सङ्क्रमण महामारीको रूपमा फैलन थालेपछि सबै स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रमा फगिङ स्प्रेबाट लामखुट्टे मार्ने औषधी छर्किने कामलाई तीव्रता दिएका छन् । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मानव स्वास्थ्यमा असर पार्ने भन्दै प्रयोगमा नियन्त्रण गर्नुपर्ने सुझाव दिए पनि फगिङ अर्थात् धुवाँ उडाउने कामप्रति निकै मोह देखिएको छ ।
जेठ अन्तिम साता धरानबाट सुरु भएको डेंगुको प्रकोप नियन्त्रणको नाममा सुनसरीका स्थानीय तहले अधिकांश समय फगिङ कार्यमा बिताएका छन् । विगतका बर्सहरूमा जस्तै यो बर्षपनि उनीहरूले फगिङको कामलाई तीव्रता दिएका हुन । तर, त्यो कार्य अहिले निरर्थक देखिएको छ । यी स्थानीय तहमा विश्व स्वास्थ्य सङ्गठनले फगिङ सावधानी पूर्वक प्रयोग गर्नु भनेर सचेत गराएको विषयमा सामान्य समेत ख्याल नगरी त्यसै छर्ने गरिएको छ । ‘यसको प्रभावकारिता छैन है भनेर हामीले बारम्बार भनिरहेका छौँ । तर जनताले मान्दै मान्नु हुँदैन,’ धरानका मेयर हर्कराज राईले भने ।
डिजेल, पेट्रोल र थर्ड ग्रेडको विषादी मानिने मालाथियन मिसाएर फगिङ तयार पार्ने गरिन्छ । जसमा ८५ प्रतिशत डिजेल, करिब ५ प्रतिशत पेट्रोल र बाँकी मालाथिन प्रयोग गरेर फगिङ तयार पारिन्छ । डिजेल मानिसमा क्यान्सर पैदा गर्ने सम्भावना भएको इन्धन हो । जसको प्रयोग फगिङमा सबैभन्दा बढी प्रयोग हुने र यो मानव बस्तीमा छरिने भएकोले यसले मानिसमा क्यान्सर रोगको खतरा बढाउने सम्भावना रहन्छ । फगिङले वयस्क लामखुट्टेलाई मात्रै मार्न सक्छ । यसले लार्भाका रूपमा रहेका लामखुट्टेलाई मार्न सक्दैन । जून काम निरर्थक देखिनुका साथै फजुल खर्च समेत भएको छ ।
‘जनताले जनप्रतिनिधिहरूलाई कामै गर्नुभएको छैन भन्ने दबाब दिँदा रहेछन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले भने, ‘त्यो प्रेसरका कारणले हामीले फगिङ गरेका हौँ । अबदेखि हामी फगिङलाई जोड दिँदैनौ । बरु पानी जम्न नदिने र पानी जमेको स्थान पुर्ने काममा हामी साथ दिन्छौँ ।’
विश्व स्वास्थ्य सङ्गठनले डेंगुको सङ्क्रमण रोक्ने फगिङ पुरातन विधि भएकाले यसको भन्दा वैकल्पिक विधिको प्रयोगमा जोड दिएको छ । फगिङ गर्नु नै पर्ने भए पनि मानव बस्ती भन्दा बाहिर खाली ठाउँमा मात्रै छर्नुपर्ने हुन्छ । फगिङले स्वास्थ्यलाई मात्र होइन, डेंगु भाइरस मानिसमा सङ्क्रमण सार्ने एडिस एजिप्टाई लामखुट्टेको क्षमता पनि वृद्धि गरिरहेको विज्ञहरूको भनाई छ ।