सुनसरी । । प्रमुख जिल्ला अधिकारीसमक्ष अब आइन्दा समाजको शान्ति खल्बलाउने कुनै गतिविधि नगर्ने भन्दै माफी मागेपछि धर्मगुरु श्रीनिवासाचार्य हिरासतमुक्त भएका छन् । प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले उनलाई ५०० रुपैयाँ जरिवाना लिएर छाड्न आदेश दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबारै श्रीनिवासाचार्यलाई जिल्ला अदालतमा पेस गरेको थियो । उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । तर पनि प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकार रहेकाले श्रीनिवासलाई आइन्दा समाजमा शान्ति नखल्बलाउन निर्देशनसहित ५०० रुपैयाँ जरिवाना गराएर थुनामुक्त गरिएको हो ।
मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसुरसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । यसमा एक वर्ष कैद र १० हजार जरिवाना हुन सक्ने उल्लेख छ । तर श्रीनिवासले माफी मागेका कारण प्रजिअ पाण्डेले माफीसहित ५०० रुपैयाँ जरिवाना गराएर छाड्न आदेश दिएका थिए ।
जनकपुरमा असोज १२ गते गौहत्याको विरोधमा आयोजना गरिएको र्यालीमा श्रीनिवासाचार्यले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप भएको थियो । त्यसपछि उनलाई प्रहरीले असोज १६ गते सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो ।