विराटनगर । २३ पुगेर २४ वर्ष हुन लाग्यो, यस शनिश्चरे चौकमा बसेको । अहिले चेतन सरको घरको सहारा छ । योभन्दा पहिल्यै दुई ठाउँ सरिसकेकी छु । हरकपुर छोडेपछिका दिनहरू कहिल्यै पनि सजिला थिएनन्, बरु कहर लाग्दा थिए । यस बिचमा निकै चुनौतीपूर्ण ढङ्गले उभिएको पहाड पल्टाउन सरह थियो ३ जना छोरीहरू सँगसँगै लिएर गरिखान । एकातिर माओवादी भएको आरोप र अर्कोतिर गृहस्थ सम्हाल्न नसकिने अवस्था ! भीरको चिन्डो उँभो र उँधोजस्तो थियो त्यो बखत । यस बेला एमाले नेता विनोद ढकाल र मोहनकुमार न्यौपानेले लगाएको गुण कहिल्यै बिर्सन सक्दिनँ । आइतकुमारी लिम्बु, राधा राईजस्ता साथीहरूको सहयोग पनि कम गुनिलो छैन । खलामा दाइँ गर्दागर्दै कम्युनिस्ट भएको र अमर गुरुङको घरमा नियमित जसो मिटिङ बैठकहरू हुने गरेको दृश्य चित्रहरू अहिले पनि मानसपटलमा ताजै छन् । विवाह उपरान्त महिला एक्लो हुँदा व्यवहोर्नु परेको पीडा सम्झियो भने मुटुको घाउझैँ बल्झिन खोज्छ, चसक्क घोच्छ, घरीघरी दुख्छ । यस्तो नियति कसैको पनि नहोस्...। हातमा चिया पकाउने भाँडो लिएर पार्वतको चिया पसलमा यति बेला पवित्रा रमाएको देखिन्छिन् ।   
पार्वता अर्थात् पवित्रा खतिवडा । उमेरले करिब ४६/४७ की भइन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ र ४ को दोसाँधस्थित चिया पसलको प्रोप्राइटर हुन् उनी । चियाका पारखीहरूको भेटघाट स्थल । गफसँगै किनमेलको  केन्द्रबिन्दु । कतिपय स्थानीय योजना निर्माणको कार्यस्थल । मानिसको दुःख बिसाउने चौतारी । भलाकुसारीको लागि मिलनबिन्दु । 
हरकपुरस्थित बाल माविमा कक्षा ८ चढ्दै गर्दा पवित्रा घरपरिवार मार्फत चिनजानकै व्यक्तित्व टेकनाथ घिमिरेसँग विवाह बन्धनमा बाँधिइन् । १६ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिनु एउटा परीक्षा त थियो नै । औसत टाठी बाठी हुँदाहुँदै पनि परीक्षा उत्तीर्ण हुन उनलाई निकै धौ धौ पर्‍यो । 
विवाह लगत्तै घर गृहस्थको जग कसिलो बनाउने उद्देश्यका साथ हरकपुरबाट अहिलेको वडा नं. ४ अवस्थित मिलन चौक बसाइँ सराई गरिन् ।  माओवादी जनयुद्धमा सामेल भएको आरोपमा श्रीमान् टेकनाथमाथि मानिसको हुने कुदृष्टि पवित्राका लागि असह्य हुन्थ्यो । सजिलो भएन मिलन चौकको बसाइँ । ३ वर्षपछि फेरि हरकपुर गए । तमासा त्यहाँ पनि कम थिएन, १ वर्ष बसेर फर्किनुपर्‍यो, पथरी शनिश्चरे नै । माओवादीमा लागेबापत पाता कसेर सजाय दिने तहमा पुगेपछि टेकनाथ माओवादी होइन, एमाले कार्यकर्ता भनेर पुलिसको फन्दाबाट छुटाउन एमाले नेता विनोद ढकाल र मोहनकुमार न्यौपानेले लगाएको गुण निकै गर्विलो छ पवित्रालाई । अब अलिक ढुक्क भयो । 
ढुक्कसँग २०५७ साउन ४ गतेदेखि पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ स्थित शनिश्चरे चौक र आसपासका क्षेत्रमा व्यवसायरत पवित्राको दिनचर्या कठोर सङ्घर्ष र पछिल्ला समयमा पछ्यैटो सामाजिक यातनाले आकर्षित छ । अहिलेजस्तो ग्यासको प्रबन्ध पर्याप्त थिएन ।  
चुल्हो बाल्न दाउरा नभए स्टोभ प्रयोग गर्नुपर्थ्यो । मट्टितेल पनि असाध्यै महँगो, कहाँबाट स्टोभ बाल्न सम्भव हुन्थ्यो र ! फेरि आम्दानी रुपैयाँ र खर्च सवा रुपैयाँ पनि गर्नुभएको नि ! बिहानभरि दाउराको जोहो गर्नेदेखि लिएर मेलापातसम्म गर्न भ्याउने पवित्राले चिया पसल सञ्चालनलाई व्यवसायको मूल आधार बनाइन् । २०६१ माघ १२ गते श्रीमानले बहुविवाह गरेपछि पवित्राको जीवनमा एक खालको असह्य चोट प्रहार भयो । काखमा बालक छोरीहरू छन् । तिनको एक्लो अभिभावक  म । तिनलाई चटक्कै माया मार्न सकिन्न । अब के गर्ने ? कसो गर्ने ? मनमा धेरै थरीका कुरा नआएका होइनन् तर सम्हालिनु पर्‍यो ।  र धैर्यतापूर्वक अग्रसरता लिनुपर्‍यो । 
पवित्राको जीवनमा क्रमशः चुनौती थपियो, दैनिकी बोझिलो भयो र कार्य ब्यस्तता ह्वात्तै बढ्यो । एकातिर श्रीमानले आफूमाथि सौता ल्याइदिएको बखत थियो भने अर्कोतिर मानिसको छोई छिटोपूर्ण व्यवहार... घरीघरी त मन अमिलो हुन्थ्यो रे उनी अहिले पनि त्यो दिनको कुरा सम्झिन्छिन् । 
फेरिएको समयको प्रभावलाई सम्झँदै उनी भन्छिन्, ‘माओवादी भएको आरोपले मुछिएका कारण गैर माओवादी पसलमा ग्राहक नआउने, छोरा मानिस ग्राहक आउँदा वरपरका मानिसले नानाथरिका लाञ्छना लगाइदिने, यदाकदा कोही आइहाले पनि घर गरिखान नसकेकी भनिदिने, बिना सित्तैमा बदनाम गरिदिने, आफ्नै कानले प्रस्टैसँग सुन्ने गरि अश्लील गाली बोल्ने र अप्रिय लाग्ने आरोप–प्रत्यारोपको चाङ थोपरि दिनेसम्मको काम हुन्थ्यो ।’
चिया पसलकै भरमा तीन छोरीहरू कुसुम, करुणा र काजललाई हुर्काउन, पढाउन र बढाउन चानेचुने कुरा थिएन । जसोतसो आँट गरिन् ।  अंशको हक स्वरूप उनले पाएको  ३० हजारमा थपथाप केही गर्दै ग्रामीण विकास बैङ्कको सहयोगमा बजार क्षेत्र अन्तर्गत १० धुर जमिन किनिन् । 
घडेरी लिएपछि घर बनाउनुपर्ने आवश्यकता र हुटहुटीले सधैँभरि सतायो । नसताओस् पनि कसरी– कतिन्जेल पोका पन्तुरा ओसारपसार गर्ने । सामाजिक लाञ्छना सहेर बस्नुपर्ने आफू पनि एक्लो र छोरीहरू पनि हुर्कँदै बढ्दै गएका । यसैबीचमा आइतकुमारी लिम्बू, राधा राई, निर्मला गदालको आँट बल, हौसला र साथ–सहयोगमा घर उभ्याइन् ।  एसएलसीसम्म बोर्डिङ स्कुलमार्फत छोरीहरूको पढाई लेखाइ गराउँदै उच्च शिक्षा आर्जनको तहमा ल्याउन सक्नु एक जना आमाको लागि सजिलो पक्कै थिएन । २० किलोसम्म दूधको चिया, अर्डर आए खाना र खाजाको लागि आम मानिसको छनौटमा पर्दै गएको पार्वतको चिया पसलले अहिले सागसब्जी र फलफूलको समेत सेवा दिइरहेको छ । 
हरकपुरछँदा भूमिगत कालीन एमाले नेता अमर गुरुङको घरमा दिनहुँ जसो मिटिङ बैठक हुन्थ्यो । उनका बुबा नबिराईकन त्यहाँ जान्थे ।  कतिपय आगन्तुकले समेत सोधपुछ गर्दै त्यहाँ पुग्थे ।  कतिपयलाई त्यहाँ पुग्न उनैले सहजीकरण गरिदिन्थिन् ।  हिउँदभरि खलामा हुने दाइँमा हल गोरुका पछिपछि लागेर  ठुलाबडाको सङ्गत पाएको सम्झने पवित्रा  ठुलाबडाको गफगाफबाट कम्युनिस्ट बुझेको,   एमालेलाई चिनेको बताउँछिन् । सामाजिक विभेद, काटमार, प्रतिहिंसा व्यवहार र अभिव्यक्ति उनलाई सानैदेखि मन गरेन ।  ‘यति हुँदाहुँदै पनि कसैले  एमाले होइन भन्दा चुल्होमा झोस्दै गरेको अगुल्टो लिएर झम्टन मन लाग्दथ्यो, अल्प हाँसो हाँस्दै पवित्रा भन्छिन् । 
२०६२/०६३ को जनआन्दोलनताका चौक चौकमा हुने मानिसको जमघटसँगै चिया पसल एउटा केन्द्र बन्यो । म स्थानीय नेतृत्वसँग नजिक हुन पाएँ । अखिल नेपाल महिला सङ्घमार्फत आबद्ध भएँ । लगत्तैपछि नेकपा (एमाले) को सङ्गठित सदस्यता लिएँ । कतिपय बेलामा चित्त बुझ्दैन, झोकिन्छु । साथीहरू टाढा भएको ठान्नुहुन्छ । यस्तो केही पनि होइन । सामान्य पढा लेखा गरेको मानिसको तहबाट बुझ्दा पनि सिद्धान्त, दर्शन, बिचार, नीति, नीतिगत मूल्यमान्यता र कार्यक्रमका हिसाबले पनि एमालेको विकल्प अरू कुनै राजनीतिक शक्ति हुन नसक्ने पवित्राको कथन छ ।
भरखरै अघि मात्र कान्छी छोरीको समेत विवाह कर्म र जिम्मेवारीमुक्त भएपछि उनलाई खुसी लागेको छ, मनचंगा भएको महसुस हुन्छ । मोरङ मेरिगोल्ड र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीलाई छोरीहरू पढाउने विषयमा सहयोगी बनिदिएकोमा साधुवाद अर्पण गर्न हतारिन्छिन्, अथक श्रम सिञ्चनको प्रेरणा स्रोत पात्र पवित्रा । 
‘छोरा नहुनुको दोषसमेत ममाथि थोपरियो । छोरीहरू मुख हेर्दै चित्त बुझाएँ । धैर्यता ठुलो कुरा रहेछ, आँट र साहस बटुल्दै आएँ । अहिले म औसतमा सफल भएँ, हर्षानुभूतिका साथ पवित्रा भन्छिन्,  दुई कार्यकाल शनिश्चरे सहकारी र एक कार्यकाल पार्टीको वडा तहको कमिटीमा बसेर काम गरेँ,  कामबाट बचेको समय सामाजिक काममा लगाउन खुबै मन पर्छ।’ 
हरदिन पार्वतको चिया पसलमा भेटिने  पवित्रा अबेरसम्म चेतन पौडेलको घरमुनि छुनुमुनु गर्दै भविष्य नियालिरहेकी हुन्छिन्  ।  ‘छोरीहरू घर गरिखान गए । विवाह दान भयो । तथापि, मलाई भेट्न आइरहन्छन् । चासो र चिन्ता लिइरहेका हुन्छन् । वाद संवाद भइरहन्छ । अब त नातिनातिनाहरू पनि भए । ज्वाइँहरू पनि असल, सफल हुनुहुन्छ । छोरी–ज्वाइँ र नातिनातिनाहरू बाक्लै आउँछन्, आमा भन्छन् । मन बुझाउँछु, उनी भन्छिन्, तिनैसँग नजिकिन्छु, खेल्छु, भुल्छु र माया साटासाट गर्छु । जानेको कर्म यही हो, हात चलुन्जेल चिया पकाउँछु, बनाउँछु र खुवाउँछु । यसबाट मेरो जीविकोपार्जन होला नै । ओछ्यान लागेका दिन त छोरीहरू छन्, तिनले मेरो दुःख दर्द र कठोर काललाई बुझेका छन् । सम्हाल्नेछन् ।’ 

राजनीतिक सङ्गत, सामाजिक जीवन र परिवेश, सांस्कृतिक चेत र एक्लो जीवन निर्वाहका दृष्टिकोणले पार्वतको चिया पसलकी पवित्राको जीवन प्रेरणादायी छ । पवित्राले काटेका विरक्तिपूर्ण क्षण र व्यहोरेका अमिल्दा–असजिला क्षण निक्कै मन पिरोल्ने खालका छन्  ।  धैर्यता, आँट, साहसले सबैको जीवनमा सार्थक सफलता ल्याओस् ! बाँच्ने आधारको रूपमा विकसित चिया पसलकी पार्वता अर्थात् पवित्रा र पवित्राजस्ता धेरै पवित्र मन भएका छोरी, चेलीबेटी, दिदीबहिनी र आमाप्रति हार्दिक सम्मान ।
(नेकपा एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख युवराज बास्कोटासँगको कुराकानीमा आधारित)