सुनसरी — दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको आरोप लागेपछि घटना विवादमा परेको छ। बैशाख २ गते बिहान भएको उक्त घटनालाई लिएर पीडित पक्ष र स्थानीयले ज्यादती भएको बताएका छन् भने नगरपालिका र प्रहरीले आरोप अस्वीकार गरेका छन्।

स्थानीय ४५ वर्षीया राम कुमारी चौधरीले आफू १७ वर्षदेखि उक्त स्थानमा टहरा बनाएर बस्दै आएको र घर भत्काउने क्रममा नगर प्रहरी तथा नेपाल प्रहरीले आफूलाई बल प्रयोग गरी लछार–पछार गरेको बताइन्। “धरपकड गर्दा लागेको चोट अहिलेसम्म निको भएको छैन, मानसिक रूपमा पनि असहज महसुस भइरहेको छ,” उनले भनिन्।

उनकी छोरीले समेत घटनामा आफू र आमामाथि दुर्व्यवहार भएको दाबी गरेकी छन्। “ममीमाथि भएको ज्यादती सम्झिँदा अझै बिक्षिप्त हुन्छु। ममीलाई र मलाई नगरप्रहरी र जनपथ महिला प्रहरीले लछार–पछार गरे, मेरो लुगा समेत च्यातियो,” उनले भनिन्।11 1

घटनास्थलमा रहेका स्थानीय अभिजित रामले गरिब तथा निम्न आय भएका नागरिकमाथि अमानवीय व्यवहार भएको आरोप लगाए। “एक जना निम्नस्तरको महिला माथि यस्तो व्यवहार हुनु दुःखद हो। राज्यले यस्ता दमन गर्नु हुँदैन थियो, तर गरिबको पक्षमा बोल्ने कोही हुँदैन,” उनले भने।

पीडित चौधरीले आफ्नो टहरा रहेको स्थान नजिकै नम्बरी जग्गाबीच दुहबी नगरप्रमुख बेद गच्छदारको १ कठ्ठा ९ धुर जग्गा रहेको र सो जग्गामा बाटो निकाल्नकै लागि आफ्नो घर भत्काइएको आरोप लगाएकी छन्। यता दुहबी–१० का वडाअध्यक्ष तुलाराम माझीले भने घटनालाई सामान्य रहेको बताउँदै अतिरञ्जित रूपमा प्रचार गरिएको दाबी गरे। “सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरेकाले आवत–जावतमा समस्या भएको थियो। त्यसैले खाली गराइएको हो,” उनले भने।IMG1

जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि घटनाबारे सार्वजनिक भएका फोटो तथा भिडियो ‘भ्रामक रूपमा प्रस्तुत गरिएको’ जनाएको छ। प्रहरीका अनुसार ऐलानी जग्गामा बनेका अवैध संरचना हटाउने क्रममा केही व्यक्ति आक्रोशित बनेर डोजर (JCB) तर्फ जान खोजेका थिए। “सम्भावित दुर्घटनाबाट जोगाउन महिला प्रहरीले रोक्ने प्रयास गरेको हो। समाचारमा उल्लेख भएजस्तो डोरीले रुखमा बाँध्ने जस्तो अमानवीय कार्य गरिएको होइन,” प्रहरीको भनाइ छ।

नगरपालिकाले अघिल्लो दिन दुई दिनभित्र संरचना हटाउन सूचना जारी गरे पनि भोलिपल्टै डोजर चलाइएको भन्दै स्थानीयले प्रक्रियामै प्रश्न उठाएका छन्।

घटनापछि पीडित पक्षले आफूहरूमाथि भएको व्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।