विराटनगर । कोशी  प्रदेश सरकारले प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार  गर्ने महत्वकाक्षी योजना सुरु भएको घोषणा गरेको छ । प्रदेशका ४ वटा अस्पतालसँग सम्झौता गरेर प्रदेश सरकारले आजबाट १० वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार सुरु भएको घोषणा गरेको हो । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले विराटनगरको नोबेल मेडिकल कलेज, विराटनगरकै  विराट मेडिकल कलेज, विराटनगरको हाम्रो अस्पताल र किओच  दमक बालबालिका अस्पताल सँग १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने गरीको सम्झौता गिरेको छ । यस्तै  प्रादेशिक अस्पताल भद्रपुरबाट समेत बालबालिकाले निःशुल्क उपचार पाउने घोषणा सरकारले गरेको छ । 

प्रदेश सरकारले सम्झौता गरेका सबै अस्पतालका सञ्चालक मुख्यमन्त्री केदार कार्की निकटहरू हुन्  । ती मध्ये तीन वटा अस्पताल नेपाली काँग्रेसको फरक समूहको नेतृत्व गरेका डा शेखर कोइरालाको निर्वाचन क्षेत्रमा छन् । यस्तै दमकमा रहेको बालबालिका अस्पताल भने डा भगवान् कोइराला नेतृत्वको टिमले सञ्चालन गरेको हो । कार्की डा कोइराला निकट छन् । 

प्रदेश सरकारले तत्काल ३ करोड रुपैयाँ बजेट विनियोजन गरेर सुरु भएको बालबालिकाको निःशुल्क उपचार आफू निकटका अस्पतालहरूलाई पोस्न सुरु गरेको भनेर आरोप समेत लागेको छ । कोइराला समूहमा रहेका मुख्यमन्त्री केदार कार्कीले डा शेखरलाई निर्वाचनमा सजिलो बनाउन यो महत्त्वाकाङ्क्षी कार्यक्रमको घोषणा गरेको आरोप लागेको छ । 

नेकपा एमालेले विना प्रतिस्पर्धा निःशुल्क उपचारका नाममा निजी अस्पतालहरूसँग प्रदेश सरकारले सम्झौता गरेको भन्दै विरोध गरेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बालबालिकाको निःशुल्क उपचारका नाममा विराटनगरका एउटै निर्वाचन क्षेत्रका निश्चित र आफूलाई मन लागेका अस्पतालसँग मुख्यमन्त्री केदार कार्कीले स्वार्थपूर्ण रूपमा सम्झौता गरेको बताए । उनले कुनै मापदण्ड बिना, प्रतिस्पर्धा नगरी अस्पताल छानेकोमा आप्पती जनाए  ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रमुख सचेतक भण्डारीले सञ्चित कोषबाट व्ययभार पर्ने गरी मार्ग निर्देशन बनाएर खर्च गर्न नपाइने बताए । उनले सम्झौता प्रक्रियामा प्रदेश सरकारले सामान्य कानुनको समेत खिल्ली उडाइएको आरोप लगाए । उनले भने, धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थियो, कोशी अस्पताल विराटनगर थियो । जिल्लाका पनि कयौँ राम्रा अस्पताल थिए  । तिनीहरूसँग किन सम्झौता गरिएन रु

 मुख्यमन्त्री कार्की भने अस्पतालमा रहेका डाक्टर, औजार उपकरण र भौतिक पूर्वाधारको अवस्थालाई हेरेर निःशुल्क उपचाकालागि सम्झौता गरिएको दाबी गर्दै आएका छन् । उनले कुनै आग्रह  र पूर्वाग्रह विना निःशुल्क बालबालिकाको उपचारका लागि काम थालिएको दाबी गरे । 

यस्तो छ सरकारको तयारी

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले दश वर्ष मुनिका बालबालिकाहरूलाई निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा सम्बन्धी मार्गदर्शन २०८० जारी गरेको छ । सो मार्गदर्शनका आधारमा प्रदेशमा स्थायी बसोबास भएका १० वर्ष मुनिका बालबालिकाले निःशुल्क स्वास्थ्य उपचार पाउने स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले बताइन् ।  

देवकोटाले प्रदेश सरकारको निःशुल्क उपचार सेवा  बालबालिका बिरामी हुने बित्तिकै नजिकको स्वास्थ्य चौकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिकको अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएको अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफर सहित  तोकिएको अस्पतालमा उपचारका लागि आउनु पर्ने बताइन्  ।

निःशुल्क आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले बताइन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बिमाले तोके बमोजिमको अ‍ौषधी समेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको देवकोटाले बताइन ।