विराटनगर । कोशी प्रदेश सरकारले  किसानलाई लक्षित गरी कृषि मूल्य सूचना प्रणाली सार्वजनिक गरेको छ। बुधवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी कृषि मूल्य सूचना प्रणाली सार्वजनिक गरेको हो । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सो सूचना प्रणाली सार्वजनिक गरे । उद्योग कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सहज र एसआईपीको सहयोगमा भएको कार्यक्रममा किसानसँग बजार जोड्नको लागि यो काम सुरु भएको जानकारी दिइएको थियो । 
कृषि मूल्य सूचना प्रणाली मार्फत बजारको औसत मूल्य जानकारी हुने, बजारको बारेमा थाहा हुने,  इनरुवा सहित बिर्तामोड धरान र कालीमाटी तरकार बजारको मूल्यको तुलना गर्न सकिने, मूल्य शृङ्खलालाई व्यवस्थित गर्न यो प्रणाली प्रभावकारी हुने मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका  सचिव डा  लेखराज दाहालले  कृषि मूल्य सूचना प्रणालीलाई स्थानीय तह मार्फत तथा बजार व्यवस्थापन समितिहरू मार्फत किसानसम्म पुर्‍याउने कामको थालनी मात्र भएकोले यसलाई सबैले अपनत्व लिएर सहयोग गर्न आग्रह गरे ।  किसानले आगामी दिनमा बनाउने उत्पादन योजनालाई मूल्य प्रणालीले सहज बनाउने  समेत मन्त्रालयको भनाई छ।  यसलाई मन्त्रालयले बस्तु विक्री गर्ने  माध्यमको रूपमा र बजारसँग किसानलाई जोडेर बजारको मूल्यको बारेमा जानकारी गराउने एउटा सजिलो सूचना प्रणाली भएको उनको भनाई छ। 
 krishi mantralaya (2)
उद्योग कृषि तथा सहकारी मन्त्री खत्रीले प्रविधिको विकाससँगै किसानलाई प्रविधिसँग जोड्न यो प्रणालीले महत्वपुर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा सहभागीहरूले यसलाई किसानसम्म पुर्‍याउन निक्कै चुनौती हुने बताए । धरान कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले अहिलेकै अवस्थामा किसानसम्म पुर्‍याउन यो निक्कै चुनौती हुने उल्लेख गरे ।  ‘सरकारले सुरु गरेको यो कामलाई प्रभावकारी बनाउने हो भने सबै मिलेर लाग्नु पर्छ, उनले भने, यसको सेवा लिनेको सङ्ख्या एकदमै कम हुने देखिएकोले जसकोलागि बनाइएको हो सम्बन्धितलाई थाहा हुनु जरुरी  छ।’
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले अहिले भइरहेको अवस्थालाई  केही परिष्कृत गर्नकोलागि ल्याइएको कृषि मूल्य सूचना प्रणालीलाई वडा तहसम्म पुर्‍याएर सबैको पहुँचमा लग्नु पर्नेमा जोड दिए ।
krishi mantralaya (3)
-के हो कृषि मूल्य सूचना प्रणाली  ?

कृषि मूल्य सूचना प्रणाली किसान वा सम्बन्धित सरोकारवालाहरूलाई समयमै बजार मूल्यको बारेमा जानकारी उपलब्ध गराई उनीहरूको कृषि उत्पादन उचित समय र मूल्यमा खरिद बिक्री सम्बन्धी निर्णयलाई सहज बनाउन स्थापना गरिएको प्रणाली हो । समयमै प्राप्त भएको मूल्यको जानकारीको आधारमा कृषक, व्यापारी, सरकारी अधिकारी, उपभोक्ता र सरोकारवालाले प्रतिस्पर्धात्मक तवरले कृषि उपज बजारलाई प्रवर्द्धन गरी प्रभावकारी रूपमा आफ्ना निर्णयहरू गर्न सक्षम हुन्छन् भन्ने सरकारको बुझाई छ । यो प्रणाली मार्फत  बजारको मूल्य सुची हेर्न सकिने, बजारमा हुने कृषि उपजहरूको कारोबार परिणामको सुची हेर्न सकिने भनिएको छ। त्यस्तै  व्यापारी र किसानको सम्पर्क नम्बर समेत राखिएको उद्योग कृषि तथा सहकारी मन्त्रालयका महाशाखा  प्रमुख  पशुपति पोखरेलले जानकारी दिए ।