विराटनगर । आयुर्वेद अस्पतालहरूको न्यूनतम सेवा मापदण्डको बारेमा  पहिलो पटक समीक्षा गरिएको छ।  आयुर्वेदले दिने सेवा प्रवाह  र सरकारको मापदण्डको बारेमा यस अघि भएका प्रयास र आगामी दिनमा गर्नु पर्ने कामको बारेमा समीक्षा गरिएको हो ।  
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा  प्रदेश आयुर्वेद अस्पताल, जिल्ला आयुर्वेद केन्द्रका प्रमुखहरू सहभागी कार्यक्रममा  अहिले आयुर्वेद अस्पतालहरूको अवस्थाको बारेमा  छलफल भएको थियो ।  विगत आर्थिक वर्षमा लेखाजोखा गर्दा पाइएका उपलब्धि र कमीकमजोरीको बारेमा पनि समीक्षा भयो ।  

आयुर्वेद अस्पतालहरूले दिने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने बारेमा  त्यसको क्षमता र तत्परताको अवस्थाको मापन नै न्यूनतम सेवा मापदण्ड भएकोले त्यसको अवस्थाको लेखाजोखा गर्ने काम भएको  स्वास्थ्य निर्देशक  बस्नेतको भनाई छ।  अहिलेको अवस्थाको बारेमा मूल्याङ्कन गरी भोलीका दिनमा गर्न सकिने सुधारको बारेमा पनि छलफल भएको थियो । न्यूनतम सेवा मापदण्डको बारेमा अनुगमन भएका कोशी प्रदेशका आयुर्वेद स्वास्थ्य संस्थाहरू नागरिक आरोग्य केन्द्र ५३, आयुर्वेद औषधालय ५०, जिल्ला आयुर्वेद केन्द्रहरू १४, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर रहेको छ ।  न्यूनतम सेवा मापदण्डमा ५० प्रतिशत अङ्क ल्याउने जिल्ला आयुर्वेद केन्द्रहरू ९ वटा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । ५० देखि माथि ७० प्रतिशत अङ्क ल्याउने जिल्लाहरू ४ वटा र मोरङ जिल्लाले ७० देखि ८५ प्रतिशतसम्म न्यूनतम सेवा मापदण्डमा अङ्क ल्याएको समीक्षाको क्रममा जानकारी दिइएको थियो ।  मापदण्ड कार्यान्वयन गरे नगरेको बारेमा स्वयम र ज्वाईन्ट रुपमा त्यसको मूल्याङ्कनको आधारमा तथ्याङ्क माथि सुधार गर्नु पर्ने उपायहरू सहितको बारेमा छलफल हुने गरेको निर्देशनालयले जनाएको छ।