इटहरी । समुदायिक स्तरबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरेको छ । जनता क्याम्पसले पहिलोपल्ट भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको हो ।
बाबा मस्तनाथ विश्वविद्यालयसँग यही असार २४ गते जनता क्याम्पसको टोली त्यहाँ गएर सम्झौता गरेको हो । सो क्रममा बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति प्रोफेसर डाक्टर एचएल बर्मा, रजिष्ट्रार प्रोफेसर डाक्टर बिनोदकुमार, सहायक रजिष्ट्रारसहित अन्य विभागीय प्रमुख र जनता बहुमुखी क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्री नेतृत्वको टोली सहभागी रहेको सम्झौताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उल्खेख गरियो ।
पाँच वर्षे सम्झौतामा दुवै संस्थाबीच शैक्षिक, अनुसन्धान र साँस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । बाबा मस्तनाथ विश्वविद्यालय सन् २००२ मा स्थापित भएर प्राविधिक, चिकित्सा, मानविकी र सामाजिक विज्ञानका क्षेत्रमा स्नातक, स्नातकोत्तर तथा अनुसन्धानका कार्यक्रम हुँदै आएको छ ।
यस्तै, भारतको राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग असार २५ गते पाँच वर्षे सम्झौता गरिएको जानकारी दिइयो । श्री जे जे टि विश्वविद्यालयमा विज्ञान, इन्जिनियरिङ्, व्यवस्थापन र समाजशास्त्र क्षेत्रमा स्नातक र स्नातकोत्तर कार्यक्रम उपलब्ध छ ।
भारतका दुईवटा कलेजसँग सम्झौता गरेसँगै अब अध्ययन अनुसन्धान र अन्तर्राष्ट्रिय समन्वयका माध्यमबाट गुणस्तरीय शिक्षामा थप अगाडि बढ्ने विश्वास रहेको जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए ।
उनका अनुसार जनता क्याम्पसले सम्झौता गरेसँगै अबको तीन महिनाभित्रमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गर्ने भएको छ । यसका लागि आवश्यक बजेट स्थानीय सरकारसँग पहल गरिने भएको छ ।
जनता क्याम्पस इटहरीले अघिल्लो वर्ष भारतका सातवटा कलेजसँग सम्झौता गर्न प्रस्ताव गरेकोमा त्यसमध्ये पाँचवटाले त्यसलाई स्वीकार गरेका थिए । ती पाँचवटामध्ये पनि प्राथमिकताका आधारमा नाम चलेका दुईवटासँग सम्झौता गरिएको अभियानमा जुटेका जनता क्याम्पस प्राध्यापक डाक्टर वेणु सिटौलाले बताए ।
उनका अनुसार नाम चलेका विदेशी विश्वविद्यालयसँग सम्झौता भएसँगै अब दुवै पक्षलाई अनुसन्धान तथा संयुक्त प्रकासन गर्न, युथ इनोभेसन समिट, डिजिटल शिक्षा पाठ्यक्रम सुधार, साँस्कृतिक सहकार्य र शिक्षा क्षेत्रमा दिगो विकासका कार्यक्रमहरु लागू गर्न सहज हुनेछ ।
दुई पक्षीय सम्झौतालाई थप कार्यान्वयन गर्नका लाग अब संयुक्त समन्वय समिति गठन, पहिलोपल्ट संयुक्त सेमिनार, आगामी शैक्षिक सत्रदेखि शिक्षक विद्यार्थी ज्ञान आदानप्रदान, सहकार्यमा आधारित अनुसन्धान एवम् डिजिटल प्लेटफर्मको विकास र वार्षिक नेपाल भारत शैक्षिक शिखर सम्मेलन गरिने गरि काम गरिनेछ ।
सम्झौता गर्नका लागि जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्रीको नेतृत्वमा भर्ना समिति संयोजक चन्द्र भट्टराई, सहायक क्याम्पस प्रमुख राजन भट्टराई, कार्यक्रम प्रवक्ता तथा मध्यस्थकर्ता डाक्टर वेणु सिटौला, स्वतन्त्र विद्यार्थी यूनियन अध्यक्ष सहदेव काफ्ले, बीएसआइटी प्रमुख मन्दिप भट्टराईलगायतको सहभागिता रहेको थियो । जनता बहुमुखी क्याम्पसमा कोशी र मधेश प्रदेशका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै आएको छ ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ कुल पाँच हजार आठ सय विद्यार्थी अध्ययनरत रहेको सहायक क्याम्पस प्रमुख राजन भट्टराईले बताए ।
दुई वर्षको प्रगति विवरण सार्वजनिक
जनता बहुमुखी क्याम्पस इटहरीमा विकास केसी खत्रीको टीम विजयी भएर दुई वर्षको अवधिमा गरेका कार्यको विवरण पनि सार्वजनिक गरिएको छ । सहायक क्याम्पस प्रमुख इन्द्र प्याकुरेलले प्रस्तुत गरेको प्रगति विवरणमा क्याम्पसमा पढ्ने आउने विद्यार्थीका लागि छ वटा नयाँ वस थप गरिएको उल्लेख छ ।
यी वस सञ्चालनले सुनसरीको बराहक्षेत्र, दुहवी, इनरुवासहित पूर्व मोरङको विराटचौक सम्मका विद्यार्थीलाई सहजता भएको छ । इटहरीभर विद्यार्थीलाई पनि थप सुविधा भएको छ । यस्तै, क्याम्पस प्रवेश गर्ने हिलो बाटोमा सुधार भएको छ ।
भौतिक पूर्वाधारतर्फ कोशी प्रदेश सरकारको २५ लाख लगानीमा कम्पाण्ड वाल निर्माण, स्ववियू भवन निर्माण, इ ब्लकको दोस्रो तल्ला पूर्ण रुपमा र तेस्रो तलाको छत निर्माण सकिएको र विद्यार्थीलाई खानेपानीका लागि फिल्टरको व्यवस्था गरिएको सहायक प्रमुख प्याकुरेलले जनाए ।
यस्तै, छात्राबास निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट यस वर्ष चार करोड ९६ लाख रुपैयाँ स्वीकृत भएको छ । जसमा पहिलो चरणमा एक करोड ४२ लाखको काम सुरु भएको छ । यहाँ छात्राबास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेश प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
खत्री नेतृत्व टीमले शैक्षिक सुविधातर्फ विश्व विद्यालय अनुदानबाट एक करोडको लागतमा नयाँ भवन निर्माण, युजीसीबाट २२ लाखको अनुदानमा पाँचवटा कोठा निर्माण, एनएमबी बैंकले तीन लाखको सहयोगमा स्मार्ट बोर्ड, परीक्षा सञ्चालन हुने र प्रशासनिक भवनमा २४ वटा सिसि क्यामेरा जडान गरेको जानकारी दिइयो ।
यस्तै, विषय विभागलाई व्यवस्थित गर्न दस थान कम्प्यूटर खरीद र इन्टरनेटको पहुँच विस्तार गर्न रिपिटरको व्यवस्था गरिएको छ । दुई वर्षको अवधिमा पोखरी सुधार, ड्रेनेज निर्माण, क्याम्पसमा नर्सको व्यवस्था, जर्नल प्रकासन, मुख्य विषय अग्रेजी लिएका विद्यार्थीका लागि सम्मेलनको आयोजना र क्याम्पसको कामलाई चुस्त दुरुस्त बनाउन सफ्टवेयर खरीद गरेर सञ्चालन गरिएको उल्लेख छ ।