इटहरी । इटहरीमा नयाँ ड्रेस कोड लागु नगर्ने भन्दै उपमहानगर विरुद्ध चुनौती दिएका निजी विद्यालयहरूको बचाउ गर्दै उपमेयर सङ्गीता कुमारी चौधरीले निर्णय नमान्ने बताइन् । 

कार्यवाहक मेयरको रूपमा कार्यक्रमलाई सम्बोधन गरेकी चौधरीले भनिन्,‘तपाईँहरू डराउनुपर्दैन,सिङ्गो सरकार हामी छौँ,बहुमतको सरकार छ । तपाईँहरूको हकहितको लागि कहाँ कहाँ बोल्नुपर्छ, तपाईँहरूले भनेको कुरा हामीले गरेकै छौँ र गर्न पनि तयार छौँ । यो तपाईँहरू ढुक्क हुनुस् ।’

आइतबार साँझ इटहरीको लायन्स क्लबमा निजी विद्यालयहरूको छाता सङ्गठनहरूले संयुक्त रूपमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले उपमहानगरको निर्णय नमान्न आग्रह गरिन् ।  

आफू निजी विद्यालयहरूको पक्षमा भएको बताउँदै उपमेयर चौधरीले बहुमतको सरकार आफूसँग भएको भन्दै नडराउन भनिन् । 
निजी विद्यालयहरूले यस अघि भनेका कुरा मान्दै आएको र अब पनि मान्ने बताइन् । 

उपमेयर चौधरीले इटहरी उपमहानगरको नयाँ ड्रेसको निर्णयलाई कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्दै विरोध पनि गरिन् । 
सातै प्रदेशमा लागु भयो भने हामी पनि लागु गरौँला तर इटहरीमा मात्रै ऐन कानुन लाद्ने भन्दै उनले निजी विद्यालयहरूलाई निर्णय नमान्न भनिन् । 
उपमेयर चौधरीले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालय पढाउने नियम पनि लागु हुन नसक्ने बताइन । अन्य ठाउँमा लागु नभएको उदाहरण दिँदै उपमेयर चौधरीले इटहरीमा पनि यो नियममा झुक्नुपर्ने अवस्था आउने बताइन् । 

आइतबार बिहान निजी विद्यालयहरूले उपमहानगरको नयाँ ड्रेस कोड निर्णय नमान्ने भन्दै संयुक्त रूपमा विज्ञप्ति निकालेका थिए । 
तर सामाजिक सञ्जाल मार्फत मेयर हेमकर्ण पौडेलले नयाँ ड्रेस कोड लागु गर्न भनेका थिए । 

प्रेस विज्ञप्ति पछि निजी विद्यालय र उपमहानगरपालिका नयाँ ड्रेस लागु गर्ने र नगर्ने विषयमा आमान्ने सामुन्ने भएका थिए । 
दबाब महसुस गरेको निजी विद्यालयका सङ्गठनहरूले आफ्नो पक्षमा शक्ति देखाउन साँझ अन्तर्क्रिया कार्यक्रम राखेको थियो । 
सो अन्तर्क्रियामा नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, अभिभावक सङ्घ लगायत इटहरीका सबै निजी विद्यालयहरूको उपस्थिति रहेको थियो । 

अन्तर्क्रियामा बोल्दै नागरिक समाजकी अध्यक्ष बालिका भट्टराईले नयाँ ड्रेसले अभिभावकलाई आर्थिक भार पर्ने बताइन् । 
यस्तै अभिभावक सङ्घ सुनसरीका अध्यक्ष हरि तिम्सिनाले अभिभावकलाई ठुलो आर्थिक भार पर्ने भन्दै उपमहानगरको निर्णय स्वीकार गर्न नसक्ने बताए । 

उनले निजी विद्यालयहरूले लिने भर्ना शुल्क पनि चर्को विरोध गरे । विभिन्न बहानामा भर्ना शुल्क लिएर निजी विद्यालयहरूले अभिभावकलाई ढाड सेक्ने काम गरेको भन्दै विरोध जनाएका थिए । 

नयाँ शैक्षिक सत्रबाट सबै विद्यालयहरूमा एउटै ड्रेस लगाउने इटहरी उपमहानगरले निर्णय गरेपछि निजी विद्यालय र उपमहानगरपालिका बिच विवाद रहेको छ । यो विवाद बढ्दै गइरहेको छ ।