सुनसरी । सुनसरीमा ४२ हजार बालबालिकालाई पोलियो खोप लगाइने भएको छ । पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग ‘पोलियोमाईलाईटिस’ रोगबाट बचाउन सुनसरीका ४२ हजार बालबालिकालाई खोप लगाइने भएको हो ।
‘पोलियोमाईलाईटिस’ विरुद्धको खोप अभियानकै रूपमा मङ्गलवार गतेदेखि लगाइने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । अभियान एक सातासम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले जानकारी दिएको छ ।
नेपालमा पोलियोको बिरामी पछिल्लो पटक २०६७ भदौ १४ गते रौतहटमा देखा परेको थियो । त्यसपछि हालसम्म यो रोगका बिरामी भेटिएका छैनन् । ‘पोलियोमाईलाईटिस’ विरुद्धको खोप अन्तर्गत सुनसरीका दुई उपमहानगरपालिका, चार वटा नगरपालिका र ६ वटा गाउँपालिकामा सञ्चालन गरिनेछ । जसमा धरानमा पाँच हजार ७३६, इटहरीमा आठ हजार ९९, वराहक्षेत्रमा तीन हजार ८४५, राम धुनीमा दुई हजार ६३२, इनरुवामा चार हजार ५७८ र दुहबीमा दुई हजार ७८१ जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । 
                यस्तै कोसी गाउँपालिकामा दुई हजार ५५८, भोक्राहानरसिंहमा दुई हजार ६१७, गढीमा दुई हजार ८४, हरिनगरमा तीन हजार २६३, देवानगञ्जमा दुई हजार २६ र बर्जुका एक हजार ९०१ जना बालबालिकालाई लगाइने भएको छ । जिल्लाभर एक सय २३ वटा स्वास्थ्य संस्थामार्फत सात सय ४८ जना स्वास्थ्यकर्मी र एक हजार चार सय ९६ जना स्वयंसेवक परिचालन गरी खोप लगाइनेछ । २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई ‘पोलियोमाईलाईटिस’ खोप लगाइने कार्यालयले जनाएको छ ।