विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य र विशेष आवश्यकता शिक्षाका विषयमा विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूबिच अन्तरक्रिया गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कला, कानुन तथा शिक्षा संकायका डीन प्राध्यापक डाक्टर अनिल कुमार पोखरेलले सामाजिक कार्य र विशेष आवश्यकता शिक्षाको आवश्यकताको विषयमा प्रकाश पार्नु भएको छ । राज्यले संविधानमै आधारभूत शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा निःशुल्क र सबैको पहुँचमा पुर्‍याउने प्रत्याभूति गरेको भए पनि भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावमा फरक क्षमता भएका (आँखा नदेख्ने, अपाङ्ग, सुस्त मनस्थिति लगायतले) बालबालिका शिक्षाको पहुँचमा छैनन् ।
PU1
       विद्यालय शिक्षाबाट वञ्चित फरक क्षमताका बालबालिकालाई शिक्षा प्रदान गर्न विशेष आवश्यकता शिक्षा प्रभावकारी हुने डीन पोखरेलको भनाइ छ । समाजका आवश्यकता र समस्या समाधान गर्ने व्यवहारिक शिक्षा दिने उद्देश्यले सामाजिक कार्य विषयमा स्नातक र स्नातकोत्तर तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयले गर्दै आएको डीन पोखरेलले जानकारी दिनुभयो । सामाजिक कार्य अध्ययन गरेका विद्यार्थीले बहु आयामिक ज्ञान प्राप्त गर्ने हुनाले सरकारी, गैह्र सरकारी, निजी जुनसुकै क्षेत्रमा अवसर पाउने पोखरेलले बताउनु भयो । 
     विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शिक्षाको पहुँच सबै नागरिकमा पुर्‍याउन महानगर सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो । माध्यमिक तहसम्म नेपाली माध्यममा अध्ययन गरेका कारण अङ्ग्रेजी भाषा सुधार हुन नसकेका तर अध्ययन र अनुसन्धानले एमफिल र विद्यावारिधि गर्न सक्षम  शिक्षकहरूले भाषाकै कारण एमफिल, पिएचडी गर्न नपाएको भन्दै आदर्श विद्यालयका प्राचार्य सन्तोष पोखरेलले भाषाकै कारणले एमफिल र विद्यावारिधि अध्ययनबाट वञ्चित गर्न नहुने बताउनुभयो । विश्वका विभिन्न देशले आफ्नै मातृभाषामा उच्च र विद्यावारिधि गराउने गरेको दृष्टान्त दिँदै प्राचार्य पोखरेलले यस विषयमा पुनर्विचार गर्न विश्वविद्यालयसँग आग्रह गर्नुभयो । 
PU
       कार्यक्रममा प्रधानाध्यापक त्रय अशोक लुइँटेल, टंक सिटौला र राना क्षेत्री, पूर्वाञ्चल विश्वविद्यालय योजना महाशाखा प्रमुख डा. कोमल दुलाल, उपप्राध्यापकहरू शंकर दाहाल, नागेश्वर प्रसाद सिंह, सुजन विष्ट, प्रभव बानियाँ लगायतले आफ्ना धारणा राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले विश्वविद्यालयका कार्यक्रमलाई समयानुकूल र प्रभावकारी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । 
        विश्वविद्यालयले सञ्चालन गरिरहेको विशेष शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउन दक्षिण कोरिया र विश्वविद्यालयबिच प्राध्यापक र विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन भइरहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिनुभयो । पूर्वाञ्चल विश्वविद्यालयका दुई जना प्राध्यापकले दक्षिण कोरियामा विद्यावारिधि गरिरहेको भन्दै क्याम्पस प्रमुख निरौलाले केही समय पछि विशेष कक्षाका तीन जना विद्यार्थी र एक जना प्राध्यापक अध्ययन भ्रमणमा कोरिया जाने जानकारी दिनुभयो । यस्ता कार्यक्रमले विश्वविद्यालयको शिक्षाको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।